काठमाडौं, २८ कात्तिक । पूर्वको शहर दमकबाट पूर्वाञ्चल टुर सुरु गरेका चलचित्र ‘पुरानो डुंगा’को टिम शुक्रबार बिहान धरान पुगेको छ । दमकमा पहिलो कार्यक्रम गरेको टोलीले विर्तामोडको पाथिभरा सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए भने विराटनगरको हिमालय सिनेमा हलमा पुगेर दर्शकहरूसँग भलाकुसारीसमेत गर्न भ्याएका छन् ।
मोफसलका दर्शकसँग साक्षात्कार गरेपछि सिनेमा र दर्शकको सम्बन्ध सुमधुर हुन्छ भन्ने मान्यता राख्ने निर्देशक रामबाबु गुरुङ फिल्म रिलिजअघि नै देश दौडाह गर्ने अभियानमा रहेका छन् । ‘दर्शकसँगै कुराकानी गरेपछि फिल्मप्रति दर्शक सकारात्मक हुन्छन्’ निर्देशक गुरुङले भने । पूर्वाञ्चलका विभिन्न शहरमा कार्यक्रम गरेपछि पश्चिम लाग्ने उनीहरूको योजना छ । दर्शकसँग साक्षात भेटेर कुरा गर्दा रमाइलो लागेको धारणा राख्ने प्रियंकाले यात्रा आफैँमा रमाइलो भएको बताइन् । डुंगा चलाएर जीविकोपार्जन गर्ने दाजुभाइको कथामा आधारित चलचित्रमा दयाहाङ, प्रियंका र माओत्से गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् । यसअघि कबड्डी कबड्डी बनाएका गुरुङले दर्शकलाई सन्तुष्ट बनाएका थिए ।
प्रतिक्रिया