हत्यामा आफ्नै साथी भएको आरोप

बुटवल, २१ कात्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्या उनकै साथीले गरेको प्रहरीले जिकिर गरेको छ ।

बुटवल उपमहानगरपालिका–५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही १४ कात्तिक राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो । बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । निजको हत्यामा सैनामैना नगरपालिका– १२ का २५ वर्षीय सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जिकिर गरेको छ ।

निजले आफूले लुकाएर ल्याएको हथौडाले पटकपटक प्रहार गरी बेहोस बनाएर लतार्दै पानीमा लगेर फालेको आरोप जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले लगाए ।

प्रहरीले अभियुक्तबाट १ थान हथौडा, ४ थान मोबाइल टेलिफोन सिमकार्ड, कैँचीलगायत सामग्री र मृतकका साथबाट ५ थान इलेक्ट्रिक डेटोनेटर, हतियारमा प्रयोग हुने ११ थान छर्रा, ५ लाख रुपैयाँ फिरौतीबारे लेखिएका कागजात र नक्सा बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त र गुरुङ दुवै आपराधिक क्रियाकलापमा संलग्न रहेको र अभियुक्तले मृतकबाट अपराधको घटना सार्वजनिक हुने आशंकामा हत्या गरेको हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया