धादिङमा बस दुर्घटना : १९ को मृत्यु, १७ को सनाखत

काठमाडौं, १२ असोज । धादिङको उत्तरी क्षेत्रको मार्पाक गविसस्थित लापाङ चौतारा नजिक मंगलबार भएको यात्रुबस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १४ जना घाइतेलाई भने हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदीतर्फ जाँदै गरेको ना४ख ३३१८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

मंगलबार बिहान ७ बजेतिर धादिङबेँसीबाट २७ यात्रु बोकेर छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको ५० हजार रुपैयाँ रकम लिएर घर फर्कंदै गरेका अधिकांश यात्रु थिए । दुर्घटना परेर २ बालकसहित १३ पुरुष र ६ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा परी मृत्युहुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमाया तामाङ, रंगसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, ३ वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पद्मबहादुर थापा रहेको धादिङका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिएका छन् । यस्तै गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गंगावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको उनले बताए ।

घटनास्थलमा मृत्यु भएकामध्ये १ जना र उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका १ जना गरी २ जनाको भने सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ । माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब ५ सय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । धादिङबेँसीबाट २७ जना यात्रु चढेको भए पनि घटनास्थलमा आइपुग्दा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

दुर्घटना भएको करिब डेढ घन्टापछि मात्र प्रहरी घटनास्थलमा पुगेकाले उद्वारमा केही समस्या भएको स्थानीयले गुनासो गरेका छन् । घटनाका प्रत्यक्षदर्शी स्थानीय शिक्षक अमृत पोखरेलले भने, ‘बसका पार्टपुर्जाहरू टुक्रा–टुक्रामा छरिएका थिए । वरिपरि घाइतेहरू छटपटिँदै चिच्याइरहेका थिए । शवहरू पनि यत्रतत्र छरिएका थिए । कोही बसमा च्यापिएका थिए । अवस्था यति भयावह थियो कि व्यक्त गर्नसक्ने अवस्था नै थिएन ।’

शिक्षक पोखरेलका अनुसार दुर्घटना धादिङबाट उत्तरी मार्पाक–६ मा भएको हो । दुर्घटना भएको थाहा पाउँदा बित्तिकै घटनास्थलमा पुगेको बताउँदै उनले भने, ‘म पनि घटनास्थल पुगेँ । मृतक र घाइतेका आफन्तहरू घटनास्थलमा चिच्याइरहेका थिए । दुर्घटनास्थलबाट गाउँ नजिकै भएकाले आफन्त र परिवारका सदस्यहरू पनि तुरुन्तै घटनास्थल पुगेका थिए ।’ उनीहरूले पानी मागिरहेको बताउँदै पोखरेलले सुनाए ‘कोही मलाई बचाऊ, अस्पताल लगिदेऊ भन्दै थिए । रगत बगिरहेको थियो । तर के गर्ने, कसरी गर्ने एकछिन अलमलमा परियो ।’ गाडीभित्र मान्छे किचिएको देखिएको भन्दै स्थानीयवासीसँग मिलेर आपूm उद्धार कार्यमा संलग्न रहेको उनले सुनाए ।

बस करिब बिहान ११ बजे दुर्घटनामा परेको थियो । तर, दिउँसो १ बजेसम्म उनीहरूलाई अस्पताल लैजाने व्यवस्था नभएकाले केही घाइतेहरूलाई बचाउन नसकिएको उनको भनाइ छ । दुर्घटना भएको करिब साढे १ घन्टापछि मात्र प्रहरी घटनास्थल पुगेको उनले बताए ।

दुर्घटनास्थलबाट करिब २ घन्टा पैदलयात्रा पछि खहरे भन्ने ठाउँमा मात्र नजिकको स्वास्थ्यचौकी छ । नजिकै करिब १० मिनेटको दुरीमा एउटा मेडिकल छ । मेडिकलका एक स्वास्थ्यकर्मीले भएका औषधि लिएर उपचारको कोशिस गरिरहेका थिए । तर, प्राथमिक उपचारले मात्र गम्भीर घाइतेको जीवन रक्षा गर्ने स्थिति थिएन ।

यसैगरी, आइतबार त्रिशूली नदीको घोप्टेभिर नजिकै भएको जिप दुर्घटनामा समेत पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे बेपत्ता रहेका छन् । उनको खोजिकार्य जारी छ । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित दुर्घटनामा परेका यात्रु ३ दिन बित्नलाग्दा पनि फेला पर्न सकेका छैनन् । ७ जना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोकको घोप्टेभिरबाट त्रिशूली नदीमा खसेको थियो ।

घिमिरेका आमा, अंगरक्षकसहित ३ जनाको भने मृत्यु भएको छ । हामफालेर बाँच्न सफल भएका भनिएका चालक घाइते छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच सरकारले आइतबार पूर्वमुख्यसचिव तथा पूर्वगृहमन्त्री माधव घिमिरे सवार रहेको जिप दुर्घटना र मंगलबार धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्वप्रहरी महानिरीक्षक कुबेर राणाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणढ राजमार्गमा आवागमनमा सहज पार्न र दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने निर्णयसमेत गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।

प्रतिक्रिया