चितवन, १० असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा आइतबार बहस सुरु भएको छ । वादी नेपाल सरकारका तर्फबाट २, जाहेरवालाका तर्फबाट ७ र प्रतिवादीका तर्फबाट ११ जना अधिवक्ताले बहसका लागि नाम टिपाएका छन् ।
वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र उदयचन्द्र न्यौपानेले बहस गरिसकेका छन् । जाहेरवालाका तर्फबाट अधिवक्ता गोपालकृष्ण घिमिरे, इन्द्र अर्याल, ओमप्रकाश अर्याल, आशिकराम कार्की, बाबुराम गिरी, दिनेश त्रिपाठी र पुण्यराज पौडेलले बहस गरेका छन् ।
त्यसैगरी, प्रतिवादीका तर्फबाट अधिवक्ता धर्मराज आचार्य, केशवप्रसाद गौतम, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, बद्री पौडेल, रमेश मैनाली, भोजराज सुवेदी, खगराज कँडेल, लक्ष्मण अधिकारी र चूडामणि सापकोटाले बहस गर्दै छन् । जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार बहस समाप्त भएपछि थप प्रमाण बुझ्न आवश्यक भए इजलासले थप प्रमाणका लागि आदेश दिने र नभए फैसला गर्ने बताए ।
यसअघि, असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौंको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गंगामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसँगै पेस गरिसकेका छन् । सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमंगला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा ०६१ साल जेठ २४ गते हत्या गरिएको थियो । कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा यस सम्बन्धमा जाहेरी दिएका छन् । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालत चितवनले ०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये ८ जनालाई धरौटी र ३ जनालाई साधारण तारेखमा छाडेको थियो । २ जना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ र अर्का विष्णु तिवारी फरार छन् । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेलसमेत फरार छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र शुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र परशुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छोडेको छ ।
त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटीमा तारेखमा छाडिएको छ ।
प्रतिक्रिया