काठमाडौं, १० असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अझै अज्ञात रहेको छ ।
मुग्लिनतर्फबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ ५ बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरीका अनुसार घिमिरे आफैँले गाडी चलाएका थिए । घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक विष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।
पूर्वमुख्यसचिव घिमिरे, उनका भाइहरू प्रकाश र मोहन बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरू मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए । कार पूरै पानीमा डुबेको र खोजीकार्य जारीरहेको चितवन प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ । घिमिरे खिलराज रेग्मीका पालामा घिमिरे गृहमन्त्री थिए ।
त्रिशूलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक विष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने ‘दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।’ दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए ‘तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू ।’ तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशूलीमा खस्यो ।
घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने ‘केबलकार चढ्ने ठाउँ आउन १÷२ किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइनँ ।’
प्रतिक्रिया