दसैँमा लोसेडिङ घट्ने

दसैँभरी २ देखि ३ घन्टासम्म मात्रै लोडसेडिङ ।
माथिल्लो मस्र्याङ्दीबाट ५० मेगावाट विजुली दसैँअघि नै उपभोग गरिने ।
भारतबाट आयात भएको ५० मेगावाट बिजुली अहिले नचाहिने ।
प्राधिकरणका कर्मचारी भन्छन्ः उद्योग व्यवसाय बन्द हुने भएकोले सम्भव छ ।

काठमाडौं, ९ असोज । विद्युत प्राधिकरणले दसैँको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । औसत २ देखि ३ घन्टामात्रै दैनिक लोडसेडिङ गर्ने तयारी गरिरहेको जनाएको छ ।

दसैँको बेला औद्योगिक प्रतिष्ठान र कार्यलयहरु बन्द हुने भएकाले बिजुलीको खपत कम हुने र त्यसले उपभोक्तालाई सहज हुनेसमेत जनाएको छ । प्राधिकरणले दसैँमा फुलपातिको दिनदेखि दसैँ नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने जनाएको छ ।

दसैँमा खासगरी घरायसी कामको लागि मात्र बिजुली उपभोग हुने हुँदा धेरै उपभोक्तालाई सुविधा दिन सकिनेसमेत बताएको छ । ‘व्यावसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ’ प्राधिकरणक एक कर्मचारिले भने । प्राधिकरणले दिएको जानकारीअनुसार हाल उत्पादन बढेकाले भारतबाट आयात भएको ५० मेगावाट बिजुली पनि अहिले नल्याइने भएको छ । माथिल्लो मस्र्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दसैँअघि नै उपभोग गर्ने समेत बुझिएको छ ।

उक्त बिजुली चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवद्र्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावरहाउस राखेर मस्र्याङ्दी नदीबाट बिजुली निकालेको हो । सो आयोजनाबाट उत्पादित बिजुलीको उद्घाटन आगामी सोमबार हुने समेत प्राधिकरणले जनाएको छ ।

नेपालीहरुको मुख्य चाड दसैँमा लोडसेडिङ कम गर्नुपर्ने बाध्यताका बीच खपत पनि घट्दा प्राधिकरणलाई सहज हुने देखिएको छ । दसैँमा फुलपातीका दिनदेखि प्रायः उद्योगधन्दा तथा कलकारखाना बन्द हुन्छन् । त्यसैकारण औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ घट्ने छ । तर, कोजाग्रत पूर्णिमापछि भने पुरानै तालिकाअनुसार बिजुली कटौती हुनेसमेत प्राधिकरणले जनाएको छ । अहिले हप्ताको साढे ४६ घन्टा लोडसेडिङ हुनेगरेको छ । एकदिन ६ घन्टा, १ दिन ७ घन्टा, ३ दिन साढे ६ घन्टा र २ दिन ८ घन्टा लोडसेडिङ हुने गरेको छ ।

प्रतिक्रिया