स्थानीय निर्वाचनको तयारी हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताएका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा उनले सबै दलको सहमतिबाट टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालको शान्तिप्रक्रिया मौलिक ढंगले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापनजस्ता महत्वपूर्ण काम सहज र मौलिक ढंगले निष्कर्षमा पु¥यायौँ । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन ढिलाइ गर्नु हुँदैन ।’

दण्डहीनतालाई प्रोत्साहन दिन नहुनेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे । उनले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनःनिर्माणको काम अघि बढ्नेमा विश्वास व्यक्त गरे ।

शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै मुलुकमा शान्ति व्यवस्थापनका लागि पीडित पक्षलाई आर्थिक सहयोग तथा द्वन्द्व प्रभावितलाई पुनःस्थापनाको कार्य सञ्चालन गर्दै आएको बताइन् ।

सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मन्त्रालयले अहिलेसम्म गरेका गतिविधिका बारे जानकारी गराउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि शान्ति स्थापना गर्न खाँचो रहेको औँल्याए ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले शान्ति प्रक्रियालाई सार्थक बनाउन द्वन्द्वपीडितलाई सामाजिक न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यस वर्षको दिवसको नारा ‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने रहेको छ । मन्त्रालयद्वारा पाँचथर, सिराह, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान गरिएको थियो ।

प्रतिक्रिया