सहकारी विभागमा काम ठप्प

काठमाडौं, १७ वैशाख । सहकारी संघ/संस्थाको नियामक निकाय सहकारी विभागको कामकाज ठप्प छ । विभागका तत्कालीन रजिस्ट्रार सुर्दशनप्रसाद ढकाल तीन वैशाखमा सरुवा भएपछि काम ठप्प भएको हो ।
विभागबाट हुने दैनिक काम दुई सातादेखि हुन सकेको छैन । अझसम्म पनि  नयाँ रजिस्ट्रार नियुक्ति प्रक्रियाअघि बढ्न सकेको छैन । रजिस्ट्रार नुहुंदा काममा आउने मानिस रित्तो हात फर्कने गरेको विभाग स्रोतले जनाएको छ ।
मुलुकका सबै जिल्लाबाट सहकारी दर्ता गर्नका लागि विभागले स्विकृति दिनुपर्ने हुन्छ । पछिल्लो समयमा बहुउद्देश्यीय केन्द्रीय संघ दर्ता विवाद चुलिएका कारण तत्कालीन रजिस्ट्रार ढकाल सरुवा हुनुभन्दा एक महिनाअघि बिदामा बसेका थिए, जसले गर्दा विभागबाट हुने काममा लामो समयदेखि अवरोध भइरहेको थियो । रजिस्ट्रारको नेतृत्व गर्ने उपरजिस्ट्रार गोपीकृष्ण निरौला पनि तीन महिनादेखि विदामा छन् ।
मन्त्रालय स्रोतका अनुसार सहकारी विभागमा रजिस्ट्रार भएर गेयनाथ भण्डारी आउने भएका छन् । उनी मन्त्रालयमै बसेका छन् । उनी विभागमा कहिले आउनेबारे अझै निश्चित भइनसकेको सहकारी विभागका वरिष्ठ कृषि अर्थविज्ञ विष्ण्ुा घिमिरेले बताए । घिमिरेका अनुसार उपरजिस्ट्रार पनि बिदामा रहेकाले कामकाज हुनसकेको छैन ।
रजिस्ट्रार नहुँदा सहकारी मापदण्ड प्रतिआएको चौतर्फी विरोधको समस्या हल हुनसकेको छैन । ललितपुरका सहकारीकर्मीले सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, ०६८ परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । मापदण्डमा उल्लिखित बुँदा सहकारी ऐनविपरीत आफूहरूलाई नियन्त्रण गर्ने हिसाबले आएको भन्दै सहकारी सञ्चालकले विरोध जनाएका हुन् । लामो समयदेखि विवादमा रहेको बहुउद्देश्यीय केन्द्रीय संघ दर्ताको काम पनि हुन सकेको छैन । कानुनी प्रक्रिया पुगेको भन्दै अख्तियारले यसको तत्काल टुंगो लगाउन केही दिनअघि आदेश जारी गरेको थियो ।

प्रतिक्रिया