जेनेभा, १९ जेठ । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले पछिल्लो समयमा आप्रवासीहरू एक देशबाट अर्काे देशमा जाने क्रममा बढ्दै गएको खतराप्रति चिन्ता व्यक्त गरेका छन् । युरोप प्रवेशका क्रममा भूमध्यसागरमा भएका डुंगा दुर्घटनाहरूमा कयौँ आप्रवासीको ज्यान जाने गरेकोले त्यसले आफू दुःखी भएको महासचिव बानले बताएका हुन् ।
उनले आप्रवासीको ज्यानजाने क्रम पछिल्लो समयमा बढ्दै गएको भन्दै त्यसको समाधानका लागि सबैको चासो हुनुपर्नेमा पनि जोड दिएका हुन् । गतहप्ता पनि उक्त भूमध्यसागरमा भएको यस्तै डुंगा दुर्घटनामा परी महिला, बालबालिकासहित सयजनाभन्दा बढीको ज्यान गएको थियो । उनका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार प्रकाशन गरेकोे विज्ञप्तिमा महासचिव बानले उक्त दुर्घटनाहरूबाट आफू निकै दुःखी भएको बताइएको छ ।
उक्त विज्ञप्तिमार्फत उनले त्यस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए । आप्रवासीको समस्याका कारण युरोप तथा अन्य क्षेत्रमा पनि पछिल्ला वर्षहरूमा व्यापक मात्रामा उत्पन्न भएकोतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने पनि महासचिव बानले बताएका छन् ।
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार यसवर्ष आप्रवासीको दुर्घटना पहिलेको तुलनामा झन् बढेको पाइएको छ । युरोप छिर्ने आप्रवासीको संख्या प्रतिदिन बढ्दो रहेको र यसका कारण उनीहरूको डुंगाको यात्रा पनि जोखिमपूर्ण हुँदै गएको समाचारमा जनाइएको छ ।
पछिल्लो एक तथ्यांकअनुसार सन् २०१६ को सुरुदेखि नै भूमध्यसागरमै भएका यस्ता डुंगा दुर्घटनामा परी करिब २ हजार ५ सय १० आप्रवासीको ज्यान गइसकेको छ । तर, गतवर्ष यसै अवधिमा भने यसरी ज्यान जाने नागरिकको संख्या १ हजार ८ सय मात्र थियो । यसरी हेर्दा यसवर्षको सुरुदेखि नै आप्रवासीको सुरक्षाको अवस्था ह्रासोन्मुख अवस्थामा पाइएको हो । यो अवस्थाप्रति सबै चिन्तित हुनुपर्नेमा महासचिवले जोड दिएका हुन् । गतहप्ता मात्र यो भूमध्यसागर पार गर्न खोज्दा भएको दुर्घटनामा परी ८ सय जनाभन्दा बढीको ज्यान गएको थियो ।
त्यस दुर्घटनामा उल्लेख्य संख्यामा बालबालिका र महिला पनि परेका थिए । ती आप्रवासीको संख्या निकै धेरै रहेको र जबर्जस्ती पार गर्नखोज्दा यस्तो दुर्घटना भएको अधिकारीहरूले जनाएका थिए । पछिल्ला वर्षहरूमा विश्वमा बढ्दो मात्रामा हिंसा र आतंक फैलिएको र यसका कारण नागरिकले आन्तरिक र वाह्य शरणार्थीका रूपमा जीवन जिउन बाध्य हुनुपरेको छ । सिरिया, इराक, यमन र अफगानिस्तानमा हिंसा जारी छ । यी देशबाट पछिल्ला समयमा लाखौँ लाख नागरिक देश छोडेर शरणार्थीका रूपमा बाहिरिएका छन् ।
प्रतिक्रिया