जनकपुरधाम, १६ जेठ । जनकपुरधामलाई उपमहानगरपालिका घोषणा गरिए पनि विकासको अवस्था दयनीय नै रहेको देखिएको छ । वर्षायाममा हिलाम्य सडक, लामखुटेको प्रकोप र बढ्दो छाडा चौपायाले जनकपुरधामको सुन्दरता र संस्कृतिमाथि नै दाग लगाउँदै आएको छ ।
सम्बन्धित निकायको उदासिनताले जनकपुरमा पछिल्लोपटक सडकमा बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गर्न थालेको सर्वसाधारणको गुनासो रहेको छ । सडकमा जथाभावी छाडिएको छाडाचौपाया गाईवस्तुले ट्राफिक आवागमनमा समस्या हुन थालेको हो ।
अहिले जनकपुरको रामानन्दचोक, पिडारीचोक, शिवचोक, जानकी चोकलगायत विभिन्न चोक तथा सडक गल्लीहरूमा छाडाचौपायाको हुल नै देखिन्छ । जसले विगतमा पनि धेरै सवारी दुर्घटनाहरू भइरहेको हुन्छ । छाडाचौपाया गाई बाछोबाछी र सुँगुरहरू बीच सडकमै हिँडडुल गर्न थालेपछि आवतजावतमा कठिनाई र सवारी दुर्घटनाको सम्भावनासमेत बढेको हो । तर, सम्बन्धित निकाय पछिल्लोपटक यसलाई नियन्त्रण गर्न उदासिनता देखाउँदै अएको छ ।
जनकपुरमा डेढ वर्षअघि उपहानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय धनुषासँग सहकार्य गरी संयुक्त रूपमा खुला छाडा चौपाया गाई बाछोबाछी र सुँगुर नियन्त्रण अभियान थालेको थियो । त्यसबेला सडकमा खुला छाडा चौपाया नियन्त्रण भएको थियो । तर, डेढ वर्ष यता सो कार्य नगरेपछि केही स्थानीयहरू सडकमै जथाभावी गाईवस्तु र सुँगुरहरू छाड्ने प्रवृत्ति बढेर गएको सडक दुर्घटना हुँदै आएको छ ।
यस सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख ज्ञानकुमार महतोले छाडा चौपाया नियन्त्रण गर्ने कार्य उपमहानगरपालिकाको रहेको बताएका छन् । यसतर्फ आफ्नो ध्यान रहेता पनि उपमहानगरपालिकाले मतलब नगर्दा ट्राफिक प्रहरीलाईसमेत समस्या हुने गरेको उनको भनाइ छ । यता जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइटेलसँग कुरा गर्न पटकपटक फोन सम्पर्कगर्दा उनले फोन उठाउन जरुरी सम्झेनन् ।
प्रतिक्रिया