इलाम, १५ जेठ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका २५ जना कैदीबन्दी शनिबार इलाम कारागारबाट कैद मुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दीको कैद मिनाहामा परेका २४ पुरुष र एक महिला कैद मुक्त भएका हुन् ।
कैदी महिलासहित रहेका निर्दोष २ बालबालिकासमेत आमासँगै घर फर्केको कारागारका जेलर सिर्जना लुइटेलले जानकारी दिइन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले देशैभरका कारागारबाट गणतन्त्र दिवसको अवसरमा बाँकी कैद भुक्तान गर्न बाँकी रहेका कैदीको माफी मिनाहा गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले विभिन्न कारागारमा थुनामा रहेका असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका, ६५ वर्ष पूरा भएकाको हकमा २५ प्रतिशत कैद भुक्तान भएका, अशक्तको हकमा बाँकी कैद मिनाहा गर्न कारागार नियमावली २०२० को नियम २९ बमोजिम तथा जेष्ठ नागरिक ऐन २०६३ बमोजिम बाँकी कैद छट्याई माफी मिनाहा गर्ने निर्णय गरेको थियो ।
इलाम कारागारबाट भने जेष्ठ नागरिक र अशक्त नभएकाले कैद मुक्त भएका सबै असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रहेको कारागारले जनाएको छ । इलाम कारागारमा यसअघि २ सय ७६ पुरुष, ३० महिला र ६ जना बालबालिकाले कैद भुक्तान गरिरहेका थिए । बालकालिका भने सबै निर्दोष हुन् । आमासँगै बस्ने भएकाले मात्र बालबालिका पनि कैदीको तथ्यांकमा देखिएको कारागारले जनाएको छ ।
उदयपुर आठ कैदी छुटे
यस्तै गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारबाट ८ जना कैदी रिहा भएका छन् । नवौं गणतन्त्र दिवस २०७३ को अवसरमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका ८ कैदी छुटेका हुन् ।
रिहा हुने कैदीहरुमा पौरवा १ पर्साका विजय रायनट, उदयपुरको भुटार ४ का सोमनारायण श्रेष्ठ, कटारी ७ खगेन्द्रबहादुर थापा, कटारी ६ कै चोकबहादुर श्रेष्ठ, अमृतबहादुर विक, खाँबु १ का तिलक विक, त्रियुगा नगरपालिकाका ५ का रामसेवक चौधरी र आँपटार २ का डिल्लीबहादुर राय रहेको जेलर सिताराम कार्कीले बताए ।
जेलर कार्कीका अनुसार मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णयानुसार ४० प्रतिशत कैद भुक्तानी गरेका कारागार नियमावली २०२० को नियम २९ बमोजिम छुटेका छन । रिहा हुनेहरु कर्तव्य ज्यान, सवारी ज्यान, वनपैदावार चोरी तस्करी र रजहनी चोरी मुद्दाका कैदी रहेका छन् । ५० जना क्षमताको उदयपुर कारागारमा २ नाबालक, ६ महिलासहित १ सय ३९ जना कैदी बन्दी रहेका छन् ।
प्रतिक्रिया