बनेपा, १३ जेठ । भूकम्पले घर भत्काएको, बासस्थानको अभाव, अभिभावकत्व गुमाएका, तनाव, बसाइँसराइ र विभिन्न प्रलोभनका कारण बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि हराउने बालबालिकाको संख्या बढ्दै गएको छ ।
हराएकामध्ये बालिकाको संख्या सबैभन्दा बढी छ भने बालकको संख्या कम देखिएको छ । हराएका केही भेटिएका पनि छन् भने केही अझै फेला परेका छैनन् । गरिबी, अशिक्षा, भूकम्पका कारण विस्थापन र बालबालिका स्वयं आफूखुसी हिँड्ने प्रवृत्ति बालबालिकामा देखिएकाले पनि हराएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए । प्रहरीले दिएको तथ्यांकअनुसार आव ०७२÷७३ मा मात्रै जिल्लाबाट १७ बालिका र १० बालकसहित २७ जना हराएकोमा १४ बालिका र ८ बालक भेटिएका छन् भने ५ जना बालबालिका अझै हराइरहेका छन् ।
प्रहरी उपरीक्षक वास्तोलाले कतिपयका अभिभावकले हराएको बालबालिकाको उजुरी गरेको तर भेटिएका बालबालिकाका बारेमा जानकारी नदिँदा समस्या भएको उल्लेख गर्दै प्रहरी कहाँ उजुरी गरेपछि मुद्दाको टुंगो नलागुञ्जेलसम्म सहयोग गर्न अभिभावकलाई आग्रह गरेका छन् । प्रहरीका अनुसार आव ०७१÷७२ मा बालिका १५ र बालक ९ सहित २४ जना हराएकोमा बालिका १२ र बालक ७ भेटिएको भए पनि ५ जना अझै फेला परेका छैनन् ।
त्यस्तै आव ०७०/७१ मा बालक १४ र बालिका ११ सहित २५ जना हराएकोमा बालक ८ र बालिका ६ जना फेला परे पनि ११ बालबालिका अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ । हराएका बालबालिकाको उमेर ८ वर्षदेखि १४ वर्षसम्मको रहेको छ ।
प्रतिक्रिया