ललितपुर, १३ जेठ । उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपाल जलवायु परिवर्तनबाट सिर्जित समस्या उच्च जोखिममा रहेकाले त्यसबाट हुने असर न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रममा सरकारले जोड दिएको बताएका छन् ।
युरोपेली संघको सहयोगमा विश्व संरक्षण संघ(आइसियुएन) र दक्षिण एसियाली अध्ययन केन्द्रले आयोजना गरेको ‘प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र जलवायु परिर्वतन अनुकूलन’ विषयको दक्षिण एसियाली सम्मेलनको बिहीबार उद्घाटन गर्दै रक्षामन्त्री रावलले भने, ‘आज विश्वव्यापी जलवायु परिवर्तनको असरको मुख्य सिकार नेपाल जस्ता दक्षिण एसियाली राष्ट्र परेकाले घरबाट मुक्ति पाउन सामूहिक सहयोग र तत्परता आवश्यक छ ।’ उनले यस क्षेत्र हिमनदी तथा हिमताल विस्फोट, बाढी, पहिरो, डुबान, सामूहिक सतह बढ्ने जस्ता जलवायुबाट सिर्जित समस्यामा रहेको उल्लेख गर्दै ती समस्यासँग जुध्न सामूहिक प्रयासबाट मात्र सम्भव रहेकाले सबै एक जुट हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा नेपालका लागि युरोपेली संघका टोली प्रमुख रेन्जे टिरिन्कले दक्षिण एसियाका सबै मुलुकमा संघले जलवायु परिवर्तनका असर न्यून गर्न यहाँका बासिन्दाका अनुकूलन क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रममा सहयोग गरेको जानकारी दिए ।
संरक्षण संघ नेपालका राष्ट्रिय प्रतिनिधि डा प्रह्लाद थापाले जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक विपद्का घटनाबाट दक्षिण एसियाली राष्ट्र उच्च जोखिममा परेकाले त्यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याए । केन्द्रका निर्देशक डा निश्चलनाथ पाण्डेले दक्षिण एसियाली मुलुकका जलवायुजन्य समस्याका बारेमा सूचना र ज्ञान आदानप्रदान गर्न यस खालका सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । २ दिने सो सम्मेलनमा दक्षिण एसियाका नेपाल लगायत ८ वटै देशका जलवायु परिवर्तनविज्ञ तथा सञ्चारकर्मीको सहभागिता छ । सम्मेलनमा प्रकोप जोखिम न्यूनीकरण संस्कार प्रवद्र्धनमा सार्कको भूमिका, सञ्चार क्षेत्रका भूमिका तथा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतापछि जलवायु परिवर्तन अनुकूलन र सार्कसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् ।
प्रतिक्रिया