सुरु भयो सहरी सर्वेक्षण

काठमाडौं, ९ जेठ । केन्द्रीय तथ्यांक विभागले २ सय १७ नगरपालिकामा सहरी सर्वेक्षण सुरु गरेको छ । ३ वर्षको अन्तरालमा ५८ नगरपालिकाबाट २ सय १७ पु¥याइएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतको अवस्था के छ भनी अध्ययन गर्न सर्वेक्षण सुरु गरिएको विभागका उपमहानिर्देशक एवं सामाजिक तथ्यांक महाशाखा प्रमुख डा.रुद्र सुवालले जानकारी दिए ।

‘बत्ती, सडकलगायत भौतिक पूर्वाधार नपुगे पनि १० हजार जनसंख्या भएको स्थानलाई नगरपालिका घोषणा गरिएको पाइएको छ, सर्वेक्षणपछि कस्तालाई नगरपालिका बनाइयो, त्यसको यथार्थ सार्वजनिक गछौँ’ उनले भने ।

हाल मुलुकमा १ महानगर, १२ उपमहानगर र २ सय ४ नगरपालिका छन् । यी नगरपालिकाको पारिवारिक विवरण लिन पनि सर्वेक्षण गर्न लागिएको विभागले जनाएको छ । सर्वेक्षणपछि नगरपालिकामा पानी, बत्तीलगायत पूर्वाधारको के–कस्तो सुविधा र पहुँच छ भन्ने तथ्य थाहा हुने उपमहानिर्देशक सुवालले बताए ।

प्रतिनिधित्वमूलक छनोट विधिका आधारमा सहरी सर्वेक्षण गर्न लागिएको छ । सर्वेक्षणमा बसाइँसराइ, देश बाहिर कति रोजगारीमा छन्, कति विप्रेषण भित्रिन्छ ? लगायत ६० प्रश्न सोधिने बताइएको छ । २ महिना लगाएर गरिने सर्वेक्षणमा परिवार मुलीसँगको सम्बन्ध, कति पढेको ?, के विषय पढेको ?, आर्थिक विवरणसम्बन्धी प्रश्न पनि समावेश गरिएको छ ।

नगरपालिकामा बसोबास गर्ने १५ देखि ४९ वर्ष उमेरका महिलालाई कति बच्चा छन् भन्ने प्रश्न पनि तयार गरिएको छ । सर्वेक्षणमा सहरी क्षेत्रको जन्म र मृत्युदरको अवस्था के छ भनी बुझिनेछ । ‘२०६८ सालको जनगणनाअनुसार सहरी क्षेत्रमा १७ प्रतिशत जनसंख्या बसोबास गर्थे, ३ वर्षको अन्तरालमा ५८ बाट २ सय १७ नगरपालिका बनाइएपछि ४० प्रतिशत सहरमा बस्छन्, अहिलेको प्रक्षेपणअनुसार नगरपालिकामा बस्ने मानिसको संख्या १ करोड १० लाख छ’ उनले भने । सर्वेक्षणपछि सहरी क्षेत्रको आर्थिक, सामाजिक अवस्था बुझ्न र नीति निर्माणका लागि सहयोग पुग्ने विभागको विश्वास छ ।

प्रतिक्रिया