एम्बुसमा पारी नेताको हत्या

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा १ जना सरकार समर्थित नेताको एम्बुसमा पारेर हत्या गरिएको समाचार छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शुक्रबार बिहान ती नेताको हत्या भएको समाचारमा जनाइएको छ । अधिकारीहरूले सो समाचारको पुष्टि गरेका छन् ।

शुक्रबार राती हतियारधारीहरूले ती नेताको घर नजिकै एम्बुस थापेका थिए । सो एम्बुसमा परी सरकार समर्थित नेता नुर मोहम्मद काकरको ज्यान गएको हो । उत्तरी कुन्दुजको क्वाली जाल जिल्लामा रहेको उनको निवासनजिकै उक्त एम्बुस थापिएको थियो । एम्बुसमा परी ती नेताको घटनास्थलमै ज्यान गएको छ । उक्त जिल्लाका गभर्नर महबुबुल्लाह सायदीले दिएको जानकारीअनुसार उनको निवास नजिकै उनलाई लक्ष्य गरेर उक्त एम्बुस थापिएको थियो ।

उनी अफगानिस्तानमा सरकार समर्थित र प्रभावकारी नेताका रूपमा रहेका थिए । उनका छोरालाई पनि पहिले नै तालिवानहरूले गोली हानी हत्या गरेका थिए । उक्त हत्याको जिम्मेवारी कसैले लिएको छैन । तैपनि, गभर्नर साइदिले हत्यामा तालिबान सशस्त्र विद्रोहीहरूको हात रहेको दाबी गरेका छन् । गएको अप्रिल महिनादेखि तालिवानहरूले नागरिकमाथिको आक्रमणलाई सशक्त बनाएका छन् । उनीहरूले गरेको आक्रमणमा परी यसवर्षको सुरुका ४ महिनामा कम्तीमा पनि ६ सय सर्वसाधारण नागरिक मारिएका छन् ।

त्यसैगरी यस अवधिमा अफगानिस्तानका विभिन्न क्षेत्रमा गरी १ हजार ३ सयभन्दा बढी नागरिक घाइते भएका छन् । घाइतेमध्ये धेरैजना बम तथा गोली लागेर अंगभंग भई बाँचेका त कतिपय अस्पतालमै उपचाररत रहेका बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया