खोटाङ, ८ जेठ । व्यवस्थापिका–संसद्का सदस्य पाँचकर्ण (पिके) राईले किरात राई यायोक्खा जिल्ला कार्य समितिलाई जेठ महिनाको सबै भत्ता प्रदान गर्ने घोषणा गरेका छन् । राईले किरात समुदायको महान चाड साकेला उभौली तथा येले संवत ५०७६ को अवसरमा यायोक्खाको संस्थागत विकासका लागि १ महिनाको भत्ता ६० हजार रुपैयाँ यायाक्खालाई प्रदान गर्ने घोषणा गरेको यायोक्खा जिल्ला सचिव युग्सन किरातले जानकारी दिए ।
दिक्तेलस्थित आफ्नै भवनमा किरात राई यायोक्खा खोटाङले आयोजना गरेको साकेला उभौलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दे सांसद राईले किराती सभ्यता र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा आफू सदैव लागि परिरहेको बताए । सांसद राईले सम्पूर्ण किराती तथा गैर किराती व्यक्ति र समुदायलाई साकेलाको शुभकामना दिँदै सबै वर्ग र समुदायलाई एक भएर काम गर्नसमेत अनुरोध गरेका छन् । कार्यक्रममा यायोक्खा तथा किरात सेवा समाजमा आवद्घ व्यक्तिहरू, यायोक्खाका भ्रातृ संस्थाहरू किरात राई कर्मचारी मञ्च, किरात राई पत्रकार संघ, किरात राई सांस्कृतिक कलाकार संघ, किरात राई खेलकुद संघ, किरात राई विद्यार्थी संघ, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति, आदिवासी जनजाति विद्यार्थी संघलगायतमा आबद्घ व्यक्तिहरूको उपस्थिति रहेको किरात राई कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अनिल किरातीले जानकारी दिए ।
अध्यक्ष किरातीका अनुसार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सामाजिक संस्था र किरात राई समुदायका बौद्घिक तथा समाजसेवी व्यक्तिहरूको समेत उपस्थिति थियो ।
यस्तै उभौलीको अवसरमा शनिबार सदरमुकाम दिक्तेलस्थित यायोक्खाको भवन प्रांगणमा विधिवत रूपले साकेला शिलीको सुरु गरिएको छ । प्रकृतिपूजक किरातीहरूले भूमि तथा अन्नबालीको पूजा गर्दै १ महिना दिनसम्म मनाउने गर्दछन् । यसबीचमा नातागोता, इष्टमित्र, बाउ–माइती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भई नाच्ने चलन छ । वर्षको २ पटक उधाँैली र उभौलीमा प्रकृतिमा पाइने विभिन्न चराचुरुंगी तथा जीवजन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ । चराचुरुंगी लेकबाट बेँसीतिर झर्ने या जाडो याममा उधाँैली र बेँसीबाट लेकतिर जाने समय या गर्मी याममा उभौली पर्व मान्ने गरिएको जनाइएको छ । अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, आपतविपत नपारोस्, सुब्यफाब्य होस् भन्ने प्रकृतिसँग कामना गर्दै यो पर्ब मनाइन्छ । जिल्लाका प्रायः सबै किरात बस्तीमा यो पर्व मनाउँदै साकेला नाच्ने गरिएको छ ।
प्रतिक्रिया