म्याग्दी, ७ जेठ । नवदम्पत्तीलाई परिवार नियोजनका साधनका बारेमा परामर्श दिन म्याग्दीमा घरदैलो अभियान चलाइएको छ । अनिच्छित गर्भाधान कम गर्न परिवार नियोजन सञ्चार अभियानले घरदैलो सुरु गरेको हो ।
अनिच्छित गर्भाधान हुनबाट रोक्ने, जन्मान्तर कायम राख्ने, २० वर्षअघि बच्चा जन्माउने दरमा कमी ल्याउने र गर्भपतन गराउनुपर्ने अवस्था आउन नदिन परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले नवदम्पतीलाई परामर्श दिन थालिएको अभियानकी संयोजक सरस्वती पुरीले बताइन् ।
उनका अनुसार बेनी नगरपालिकाको सबै वडा, दरवाङ, बिम, ओखरबोट, रुम, निस्कोट, बरङ्जा, भकिम्ली, बाबियाचौर र अर्मन गाविसका नवविवाहित दम्पत्तीलाई महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय सहजकर्ताले परामर्श दिन थालेका हुन् ।
नवदम्पत्तीलाई उनीहरूको घरमै पुगेर अस्थायी र स्थायी परिवार नियोजनका साधनको फाइदा, प्रयोग गर्नुपर्ने कारण, जन्मान्तरलगायतका विषयमा जानकारी गराउने गरिएको छ । यसका साथै गाविसभरका नवदम्पत्तीलाई भेला गराएर स्वास्थ्यकर्मीमार्फत परामर्श, जानकारीमूलक सन्देश र परिवार नियोजनका साधन उपहार दिने गरिएको छ ।
नवविवाहित दम्पत्ती, २९ वर्षसम्मका विवाहित जोडी, सिमान्तकृत समुदाय र आप्रवासी तथा उनीहरूका परिवारलाई लक्ष्य गरेर सञ्चालित अभियानले परिवार नियोजनको अस्थायी र स्थायी साधनको प्रयोगमा वृद्धि गराई गर्भपतन गराउने दरमा कमी ल्याउने उद्देश्य राखेको छ ।
गतहप्ता निस्कोटका कुशल घर्तीसँग विवाह बन्धनमा बाँधिएकी इन्दिरा घर्तीले अभियान नवदम्पत्तीहरूका लागि उपयोगी रहेको बताइन् । ‘परिवार नियोजनका साधनको प्रयोग, जन्मान्तरलगायत विषयमा दिइने परामर्श महिला स्वास्थ्य र व्यवस्थित परिवारका लागि उपयोगी लाग्यो,’ इन्दिराकी पति कुशलले भनिन् ।
म्याग्दीमा गर्भपतन गराउने दर अस्वाभाविक रूपमा बढेकाले त्यसलाई नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए । म्याग्दीमा ४० प्रतिशत दम्पत्तीले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्षमा म्याग्दीमा ९ सय ३५ जनाले गर्भपतन गराएको तथ्यांक छ ।
प्रतिक्रिया