काठमाडौं, ७ जेठ । मुलुक र समाजलाई आपराधिक गतिविधिबाट मुक्त तुल्याउन हतियार उत्पादन, बिक्री वितरण र प्रयोगमा नियमन गर्नुपर्नेमा जोड दिइएको छ । २५६०औँ बुद्धजयन्तीको अवसर पारेर शुक्रबार यहाँ आयोजना गरिएको हतियार व्यापार सन्धिसम्बन्धी राष्ट्रिय संवादका वक्ताले शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार व्यापारसम्बन्धी सन्धि अनुमोदन गरिनुपर्ने धारणा राखेका छन् ।
हातहतियार र लागुऔषधको ओसारपोसार तथा मानव बेचबिखन ठूला सञ्जाल भएका अपराध हुन् भन्दै उनहरूले हतियारको खरिद बिक्रीबाट शान्तिसुरक्षा र कानुनी राज्यमा असर पुग्न सक्नेतर्फ समग्र समाज सचेत रहनुपर्छ भने । नेपालमा वार्षिक रूपमा ३५० को हाराहारीमा साना हतियारसँग जोडिएका घटना हुने गरेको तथ्याङ्क रहेको जनाइएको छ । नेपालका आरनमा बनेका हतियार चलाउनेहरू समातिने तथा थुनामा पर्ने गरे पनि इटाली र इजरायलमा बनेका हतियार पड्काउनेहरू भने समातिए पनि छुट्ने प्रवृत्ति नहटेसम्म शान्ति र समृद्धिलाई सधैँ चुनौती रहिरहने उनहरूको भनाइ थियो ।
सो अवसरमा प्रा डा सूर्यलाल अमात्यले ठूलो सङ्ख्यामा हतियार उत्पादन गर्ने र त्यतिकै परिमाणमा हतियार खपत गर्ने मुलुकका बीचमा रहेको नेपाल त्यस्ता गतिविधिबाट अलग रही शान्ति प्रवद्र्धनको पक्षमा उभिनुपर्छ भने । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालले हतियार उत्पादन गर्नेसँग काँध मिलाउने तथा अनुसरण गर्ने नभई शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार खरिद बिक्रीबाट अलग रहनुपर्ने विचार प्रकट गरे । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले मुलुकमा साना हतियारको व्यवस्थापन र नियमनमा सुधारको खाँचो रहेको बताएका छन् ।
समाजशास्त्री एवं सांसद गणेशमान गुरुङले समाजलाई त्रास, भय र आतङ्कबाट मुक्त तुल्याउन हतियारको नियमन गर्न आवश्यक रहेको भनाइ प्रस्तुत गरे । सांसद महेन्द्रबहादुर शाहीले मुलुकमा बेरोजगारी समस्याले पनि युवालाई अपराधमा संलग्न गराउने आधार तयार गरेको बताए । सांसद डा डिम्पलकुमारी झाले नेपालमा हातहतियारको प्रयोग मनोमानी ढङ्गबाट भइरहेको धारणा राखेकी छन् । सांसद वीरबहादुर बलायरले राजनीतिभित्र विलासिता खोज्ने प्रवृत्तिले पनि कानुनी राज्यको सिद्धान्तलाई चुनौती दिँदै आपराधिक घटनालाई मलजल गरिरहेको भनाइ प्रस्तुत गरे ।
प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले सुरक्षा निकायको प्रभावकारी संयन्त्रको कारण लामो समयसम्म द्वन्द्वमा रहेको मुलुकमा साना हतियारको प्रयोगमा असरदार रूपमा नियन्त्रण गर्न सफल भएको टिप्पणी गरे । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक वंशी दाहालले मुलुकमा भर्खरै राष्ट्रिय सुरक्षा नीति निर्माण भएको हुँदा राज्यले निर्देश गर्ने नीतिका आधारमा संगठनले सुरक्षा अवधारणा अघि सार्ने धारणा व्यक्त गरे ।
नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिह बस्नेतले शान्ति सुरक्षाको विषयलाई दलगत रूपमा नहेर्न सबैलाई सुझाव दिए । आयोजक संस्था वल्र्ड पिस डेमोक्रयाटिक नेपालका अध्यक्ष शोभा श्रेष्ठले शान्तिलाई खलल तुल्याउने र मानवको हत्यनमा साना हतियारको प्रयोग नहोस् भन्नाकन लागि हतियार व्यापार सन्धि अनुमोदन आवश्यक छ भने ।
प्रतिक्रिया