नेपालगञ्ज, ७ जेठ । ०३० सालमा एकदलीय पञ्चायती शासनविरुद्ध कांग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज बिपी संग्रहालयमा राखिने भएको छ । नेपालगञ्ज राँझास्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्र परिसरमा रहेको गोदाममा राखिएको सो जहाजको भग्नावशेष शुक्रबार एक कार्यक्रमकाबीच बिपी संग्रहालय समितिलाई हस्तान्तरण गरिएको छ ।
नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगञ्जले जहाजको भग्नावशेष बिपी संग्रहालय समितिलाई हस्तातरण गरेको थियो । कार्यक्रममा बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको नेतृत्वमा नेपालगञ्ज आइपुगेको १७ जनाको टोलीले कसले कसरी जहाज अपहरण गरेको हो भन्ने बारे बिस्तृत जानकारी गराएको थियो ।
क्रान्तिका समयमा ०३० साल ३० जेठमा विराटनगरदेखि काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबिबीको ट्वीनअटर जहाज क्रान्तिका ३ योद्धा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेलले नेपाली कांग्रेसको निर्देशनमा अपहरण गरेका थिए ।
विराटनगरबाट राष्ट्र बैंकको ३० लाख भारतीय रूपैयाँ लिएर १४ यात्रुसहित काठमाडौंका लागि उडेको सो जहाजमा सवार ती तीन क्रान्तिकारीले कोशी नदीमाथि जहाज पुगेपछि अपहरण गरी भारतको फारविसगन्जस्थित ब्रिटिस सरकारले दोस्रो विश्वयुद्धका लागि आपतकालीन रूपमा प्रयोग गर्दै आएको घाँसे मैदानमा अवतरण गराएका थिए ।
जहाज अवतरणका लागि सोही स्थानमा रहेका कांग्रेसका तत्कालीन कार्यकर्ता सुशील कोइराला, विनोद अर्याल र मनोहरी बरालले सघाएका थिए । जहाज अवतरणपछि भारु लिएर यात्रुसहित जहाजलाई तत्काल छाडिएको अपहरणमा संलग्न वसन्त भट्टराइले बताए ।
अपहरणमा परेको सो जहाज त्यसपछि ४० वर्ष निरन्तर नेपाली आकाशमा उडेर ०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनामा परेको थियो । दुर्घटनापश्चात् जहाजको भग्नावेश ट्रकमा राखेर नेपालगञ्ज राँझास्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्र परिसरमा रहेको गोदाममा राखिएको थियो ।
टुक्राटुक्रा अवस्थामा रहेको जहाजको भग्नावेशलाई जोडेर सग्लो बनाई वीपी संग्रहालयमा राख्ने सम्पूर्ण तयारी पूरा भइसकेको संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले बताए ।
अध्यक्ष पोखरेलले जहाज बनाउन र राख्ने ठाउँ निर्माण गर्नका लागि करिब ६५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए । उनले यो जहाज निकै ऐतिहासिक भएकोले बिपी संग्रहालयमा राखिने जनाए ।
टुक्राटुक्रा अवस्थामा रहेको विमानको भग्नावशेषलाई जोडेर सग्लो बनाई बिपी संग्रहालयमा राखिनेछ । जहाजको भग्नावशेष शुक्रबार नै ट्रकमा हालेर नेपालगञ्जबाट काठमाडौं लगिएको छ ।
प्रतिक्रिया