काठमाडौं, २ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थलमा गएको बारे रक्षा मन्त्रालयले सेनासँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मिडियामा आएका कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै सेनासँग स्पष्टीकरण मागिएको बताए । ‘त्यो बारेमा हाम्रो ध्यानाकर्षण भएको छ । सेनालाई के भएको हो भन्ने बारेमा जानकारी दिन भनेका छौँ’ दाहालले भने ।
यसअघि प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्षले सोनाक्षीलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल गएको कुरामा गुनासो आएपछि कानुन अनुसार कारबाही गर्नु भनी रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । सैनिक श्रीमती संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबार काठमाडौं आएकी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेलसहितका अधिकृतहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।
एक अभिनेत्रीको स्वागतमा सेनाको जर्नेल तहका अधिकृत जानु राम्रो नभएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध गरेका छन् । अभिनेता राजेश हमाललेसमेत फेसबुकमा स्टाटस राखी सेनाको यो कदमले आफूलाई हिनताबोध भएको बताएका छन् ।
प्रतिक्रिया