काठमाडौं, १ जेठ । मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादीको पुनर्गठन गरिएको छ । शनिबार बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रामबहादुर थापाको नेतृत्वमा समिति पुनर्गठन गरेको हो ।
वैद्य माओवादीका १ सय ९९ सदस्यीय केन्द्रीय समितिमध्ये थापा पक्षका १ सय ३० सदस्यहरुको बैठकले थापाको नेतृत्वमा समिति पुनर्गठन गरेको हो । समिति पुनर्गठित भएपछि बैद्य स्वतः नेतृत्वबाट हटाइएका छन् । वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि सफल नभएपछि थापा पक्षले एकताको निर्णय गर्दै समिति पुनर्गठन गरेको हो । थापा पक्षका एक केन्द्रीय सदस्यका अनुसार वैद्यलाई निस्कासन भने गरिएको छैन । उनले भने, ‘वैद्यलाई कारबाही पनि गरिएको होइन ।’
अब पुनर्गठित समितिले थापाको संयोजकत्वमा एकता प्रक्रिया अघि बढाउनेछ । बैठकले एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । पार्टी एकताका लागि वार्ता र छलफललाई तीव्रता दिइने पुनर्गठित माओवादीले जनाएको छ । अब थापा नेतृत्वको पुनर्गठित केन्द्रीय समितिको बैठक आइतबार बोलाइएको छ । यसअघि एमाओवादीको शनिबारै बसेको केन्द्रीय समितिको बैठकले विभिन्न माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गर्दै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकता समिति गठन गरेको थियो ।
प्रतिक्रिया