बारा, ३१ वैशाख । सिमारादेखि पूर्व निर्माण हुन लागेको औद्योगिक क्षेत्रको लागि सुरक्षा भवनको निर्माण सुरु भएको छ । गढिमाई नगरपालिकाभित्र पर्ने सो क्षेत्रमा औद्योगिक सुरक्षाबलको भवन निर्माण सुरु भएसँगै स्थानीय जनता हर्षित भएका छन् ।
केहीवर्ष पहिलासम्म वीरगञ्ज चिनी कारखानाको सो जमिन स्थानीय बासिन्दाले अतिक्रमण गरी खेती गर्दै आएका थिए । हाल उक्त जमिनलाई औद्योगिक क्षेत्र बनाउने उदेश्यले सेज नामक योजनाअन्तर्गत सुरक्षा वलको लागि ३ बिघा जमिनमा सुरक्षा बेस क्याम्पको भवनको डिपिसी लेबलसम्मको निर्माण कार्य पूरा भएको छ ।
बारा, पर्सा, मकवानपुरको औद्योगिक क्षेत्र सुरक्षाका लागि १ सय ६० जना सुरक्षाकर्मी यस क्यामपमा रहेर परिचालन हुने जनाइएको छ । दुधौरा खोलाको किनारमा निर्माणाधिन सो भवनको कार्य सम्पन्न भएपछि हाल परवानिपुरमा रहेको सशस्त्र सुरक्षा बेस क्याम्पलाई यस ठाउँमा स्थानान्तरण गरीने सेजका प्राविधिक अजयकुमार चौधरीले बताए ।
वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको उक्त ८ सय ३३ बिघा जमिन केहीसमय पहिला सेज प्रोजेक्टमा स्थानान्तरण भएको थियो । हाल बन्दै गरेको ५ ब्लक मध्ये औराहमा रहेको ए ब्लकको १ सय ५० बिघा जमिनमा बाउड्रीवालको कार्य पूरा भएको छ । सशस्त्र बेस क्याम्पको भवन भने निर्माणाधिन अवस्थामा रहेको स्थानीय पत्रकार बिदुर खडकाले बताए ।
बाँकी रहेको ६ सय ८३ बिघा जमिन डमरवाना क्षेत्रमा रहेकाले सो जमिनालाइ चाँडोभन्दा चाँडो व्यवस्थित गरिनेसमेत जनाइएको छ । औराहामा रहेको १ सय ५० बिघा जमिनमा तयारी पोसाक (गार्मेन्ट) उद्योग निर्माणका लागि यसवर्ष सेजले संम्पूर्ण भौतिक सुविधा सम्पन्न भवन निर्माण गर्ने काम भइरहेको छ ।
डुमरवाना क्षेत्रमा रहेको ८ सय ३३ बिघा जमिन लामो समयदेखि खाली रहेकोले स्थानीयले अतिक्रमण गरी खेती गरीरहेका थिए । सो जमिन गतवर्ष नै सीमांकन गरिएकोले हाल पर्खाल बनाउने तयारी हुँदै गरेको प्रविधिक चौधरीले बताए ।
सिमरा हँुदै डुमरवाना, फत्तेपुर, वडहर्वा, मनहर्वालगायत ग्रामीण क्षेत्रमा जाने स्थानीय लामो समयदेखि उक्त दुधौरा खोलामा हुने चोरी लुटपाटजस्ता आपराधिक घटनाले पीडित थिए । हाल उक्त स्थानमा सुरक्षा बेस क्याम बस्न लागेको र खोलामा समेत पक्कीपुल निर्माण भएकोले स्थानीयले राहत महसुस गरेका छन् ।
प्रतिक्रिया