गल्छी–बेत्रावती सडकको टेन्डर आउँदो साता

काठमाडौं, ३१ वैशाख । चिनियाँ नाकासँग जोड्ने बहुचर्चित गल्छी–बेत्रावती सडक २ वर्षभित्र २ लेन सक्नेगरी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) सरकारले तीव्र गतिमा अघि बढाएको छ । यो सडकको टेन्डर आह्वान सम्भवतः यसै साताभित्र हुनसक्ने सम्बद्ध अधिकारीले दाबी गरेका छन् ।

चीनबाट नेपालका लागि लक्षित सामान बोकेर रेल सिगात्सेसम्म आउन थालेपछि यो सडकको अवस्था र भविष्यबारे चौतर्फी चासो बढिरहेको छ । गल्छीदेखि बेत्रावती ४६ किलोमिटर सडक २ लेन निर्माण गर्ने जिम्मा पाएको गल्छी–त्रिशुली–स्याप्रुबेँसी सडक योजना कार्यालयका अनुसार साताभित्र टेन्डर आह्वानका लागि अहिले परामर्शदातासँग अन्तिम छलफल भइरहेको छ ।

‘यसै साताभित्र टेन्डर आह्वान गर्नेगरी हामी परामर्शदातासँग अन्तिम छलफल गरिरहेका छौँ,’ गल्छी–त्रिशुली–स्याप्रुबेँसी सडक आयोजनाका प्रमुख प्रकाश भण्डारीले भने, ‘डिपिआरको काम अन्तिम चरणमा पुगेको छ, सडक विभागले यसलाई स्वीकृत गरेपछि कन्ट्याक्ट्रर नियुक्तिको प्रक्रिया अघि बढ्छ ।’

योजना सम्झौता भएको २ वर्षभित्र २ लेन सडक निर्माण सम्पन्न गर्ने समयसीमा हुनेछ । भण्डारीका अनुसार डिपिआर सकिएपछि मात्रै यो सडक निर्माणको लागत रकमबारे बताउन सकिनेछ ।

भण्डारीका अनुसार पूरै कालोपत्रे गरिने २ लेन सडक नालीबाहेक ११ मिटर चौडा हुनेछ । सो सडक निर्माणका लागि सडक विभागले योजनाको छुट्टै कार्यालय त्यहाँ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेको छ ।

‘जग्गा लिइसकेका छौँ,’ भण्डारीले भने, ‘अफिस पनि स्थापना गर्दैछौँ । सम्झौता भएको मितिबाट २ वर्षभित्र काम सक्ने योजना हो ।’ चीनको उत्तरपश्चिम प्रान्त गान्सुको राजधानी लान्झोउबाट ल्हासा हुँदै आउने रेलले सिगात्सेसम्म सामान छोड्न थालेको छ । त्यहाँबाट ट्रक र कन्टेनरले केरूङ नाका हुँदै सामान नेपाल आउँछ । त्यहीबीचमा पर्ने यो भागको सडक अहिले १ लेनको मात्रै छ । त्यसलाई फराकिलो पारेर चीनबाट आउने सामान आवागमन सहजताका लागि २ लेन बनाउने सरकारको तयारी हो ।

चीनको केरूङबाट रसुवागढी जोड्ने सडक स्तरीय भए पनि रसुवागढीबाट स्याप्रुबँेसी, बेत्रावती हुँदै गल्छीसम्मको सडक स्तरहीन रहेका कारण सवारी आवागमन अप्ठेरो बन्दै आएको छ । चीनबाट धमाधम सामान छुट्न थालेपछि नेपालपट्टिको बाटो स्तरीय बनाउन सरकारसँग उद्योगी व्यवसायीले माग गरिरहेका छन् ।

यसैगरी, बेत्रावती–धुन्चे–स्याप्रुबेँसी सडकमा ‘पासिङ जोन’ बनाउनका लागि पनि सरकारले प्रयास थालेको छ । सडक डिभिजन नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालका अनुसार यो सडक पनि बिस्तारै २ लेनको बनाउने योजना हो तर एकैपटक यसको प्रक्रिया अघि बढाइएको छैन ।

‘क्रमशः सुधार गर्दै २ लेनको बनाउने योजना हो,’ बिसुरालले भने, ‘हामीलाई माथिबाट कस्तो निर्देशन आउँछ त्यहीअनुसार मर्मत गर्दै जानेछौँ ।’ उनका अनुसार यसलाई पनि २ लेन बनाउने योजना अघि बढाउने हो भने २ वर्षभित्र पूरा गर्न सकिन्छ ।

‘जग्गाको समस्या नभए २ वर्षसम्ममा हामी नै बनाउन सक्छौँ, तर कसरी निर्देशन हुन्छ त्यहीअनुसार काम गर्ने हो हामीले,’ उनले भने, ‘यसलाई तुरून्तै गर्नुप¥यो भनी सरकारले योजना बनायो भने हामी गरिहाल्छौँ, विस्तारै गर्ने भन्यो भने सुधार गर्दै जाने हो ।’ अहिले अप्ठेरो भएको ठाउँमा आवागमन केही सजिलो बनाउन काम गरिरहेको बिसुरालले बताए । १ लेन मात्र रहेको यो सडकमा ट्राफिक जामको समस्या छ । यो सडकको अवधारणा नै १ लेनको मात्र थियो ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि केरूङ नाका खुलेको थियो । नाकाबन्दीकै बीचमा चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ यो बाटोबाट राजधानी आएको थियो । चिनियाँ नाका खुलेपछि यो बाटोको स्तरोन्नति हुनुपर्ने आवाज उठेको हो । अहिले यही मार्ग प्रयोग हुँदै सामान काठमाडौंसम्म आउने क्रम तीव्र बनिरहेको हुँदा जामको समस्या भएको हो ।

बेत्रावती–धुन्चे–स्याप्रुबेँसी जाँदा बीच भागमा पर्ने मुलखर्च–राम्चे ६ किलोमिटर पहिरोग्रस्त क्षेत्र छ । यहाँ हरेक वर्ष पहिरो जाँदा बाटो बन्द हुने गरेको छ । पहिरोग्रस्त ठाउँको विकल्पका निम्ति पनि ट्रयाक खोल्ने काम भइरहेको छ । त्रिशुलीको किनारै–किनार मैलुन–स्याप्रुबेँसी सडकको ट्रयाक नेपाली सेनाले खनिरहेको छ ।

बिसुरालका अनुसार एक लेनको यो सडकमा ठुल्ठूला ट्रक र कन्टेनर गुडिरहेका छन् । साँघुरो सडकमा ठूला मालबाहक सवारी गुडाउँदा जामको समस्या बढेको बिसुराल बताउँछन् ।

गतवर्षको भूकम्पले क्षति पु¥याएको तातोपानी नाका बन्द भएपछि सक्रिय रहेको यो नाका चीनबाट सामान आयात बढेसँगै थप व्यस्त हुन थालेको छ । चीनबाट अहिले धेरैजसो स्याउ, लुगाकपडा, इलेक्ट्रोनिक सामान र लसुन प्याज बढी भित्रिरहेको छ ।

प्रतिक्रिया