सुनसरी, ३० वैशाख । पूर्वाञ्चलमै रहेर आफ्नो प्रतिभा देखाउने र पहिचान बनाउने कलाकारहरूमा पर्छन् राजकुमार दाहाल (डिसी) । जो फिल्मी दुनियाँमा उचाइमा पुग्न संघर्षरत छन् । हुन त उनी व्यावसायिक पृष्ठभूमिबाट आएका हुन् तर केही समयता उनको परिचय कलाकारको रूपमा स्थापित हुने क्रममा छ ।
झट्ट हेर्दा उनलाई सबैले मद्रासी हिरो भन्छन् । उनको गेटअप, जिउडालको कारण उनी मद्रासी हिरोजस्तै देखिन्छन् । उनको शरीर र लुक्सले नेपाली फिल्ममा केही नयाँपन थप्ने विश्वास गर्न सकिन्छ ।
कलाकार बन्न काठमाडौं नै जानुपर्ने बाध्यता हट्दै गएको समयमा दाहाल पूर्वमा हिरोको रूपमा उदाएका छन् । सुरुआती दिनमा फिल्म पाउन संघर्ष गरेका उनलाई अहिले फिल्ममा अफर आउने गरेको छ ।
झन्डै आधा दर्जन फिल्ममा अभिनय गरेका उनले अभिनय गरेको फिल्म डार्लिङ रिलिज भइसकेको छ भने सरप्राइज हलमा लाग्ने तरखरमा छ । त्यस्तै यस्तै उनले एक्सन हिरोको रूपमा अभिनय गरेको फिल्म झिल्केको सुटिङ लगभग सकिएको छ । झिल्के अहिले सम्पादनको क्रममा छ । आफ्नो दोस्रो फिल्म सरप्राइजबाटै हिरोको भूमिकामा देखिएका दाहालले झिल्केमा नेपाली चलचित्रकी स्थापित नायिका झरना थापासँग अभिनय गरेका छन् । उनी यो फिल्ममा एक्सन हिरोको रूपमा छन् ।
यस्तै भोजपुरी फिल्म ‘तु हमार जान होउ’मा समेत दाहाल छन् । यो फिल्ममा पनि उनी एक्सन हिरोको रूपमा देखिएका छन् । सानैदेखिको फिल्म र अभिनय रुचीलाई उनले विगत ५ वर्षदेखि क्रियाशील छन् । अरूले गरेको अभिनय हेर्दै अनि गाउँ, स्कुलमा हुने नाट्य कार्यक्रममा सहभागी हुँदै अभिनय सिकेका उनले आफ्नो दोस्रो फिल्ममै नायकको रूपमा प्रस्तुत भएका छन् ।
पूर्वमा फिल्मको नायक बन्ने थोरै कलाकारहरूको भीडमा दाहाल भने आफ्नो पहिचान बनाउन आफ्नो शरीर र स्वास्थ्यलाई विशेष ध्यान दिन्छन् । दिनको २ घन्टा जिम जाने उनी खानपानमासमेत ध्यान दिन्छन् । एउटा हिरोमा दर्शकले अपेक्षा गरेजस्तै शरीर बनाउन उनले धेरै मिहिनेत गरेका छन् । भन्छन्, ‘शरीर सुगठित बनाउन गरेको समय, पैसा र मिहिनेतको खर्च धेरै छ ।’
उनलाई विभिन्न फिल्मको लागि अफर आउन थालिसकेको छ । तर, उनी रोजेर मात्र फिल्म खेल्ने बताउँछन् । म्युजिक भिडियोका धेरै अफरहरूलाई उनले नकारिसकेका छन् । कामलाई सानो, ठूलो नभन्ने गरेको बताउने उनी नेपाली चलचित्र क्षेत्रमा परिचित हुने सुरमा छन् । त्यसैले उनी भन्छन्, ‘अवसरको पर्खाइमा छु ।’
प्रतिक्रिया