काठमाडौं, ३० वैशाख । अपांगता भएका बालबालिकालाई समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले सरकारले देशभर ३ सय ६५ एकीकृत विद्यालय स्थापना गर्ने भएको छ ।
प्लान इन्टरनेसनल र अस्ट्रेलियन एडको सहयोगमा राष्ट्रिय अपांग महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनालले कार्यपत्र प्रस्तुत गर्दै अपांगता भएका बालबालिकालाई सर्वसुलभ र समान शिक्षामा पहुँच पु¥याउने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना(एसएसडिपी)अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए ।
सो योजनाअन्तर्गत कर्णालीका ५ जिल्ला र खाद्य संकट रहेका २४ जिल्लाका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गर्न लागिएको छ । उपसचिव खनालले भने ‘यो कार्यक्रमले अपांगता भएका र अन्यलाईसमेत विद्यालयमा टिकाइराख्न र बालबालिकाको पौष्टिक तत्वको अभाव हटाउन मद्दत गर्नेछ ।’
यसैगरी सुस्तश्रवण, बहिरा बालबालिकाका लागि ३४ विशेष विद्यालय र ८ आवासीय विद्यालयको व्यवस्था गर्न लागिएको हो । कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये करिब ८३ प्रतिशत मात्र विद्यालय कक्षा २ मा भर्ना हुने गरेको तथ्यांक जानकारी गराउँदै उपसचिव खनालले बाँकी १७ प्रतिशत विद्यार्थीले बीचमा नै कक्षा छोड्ने वा कक्षा दोहो¥याउने गरेको बताए । कक्षा १ मा भर्ना भएकामध्ये ३९ प्रतिशत मात्र प्रवेशिका परीक्षा दिने बेलासम्म अध्ययनरत हुने गरेको उनले जानकारी गराए ।
अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपांगता भएका बालबालिकाका लागि सरकारले ल्याएको कार्यक्रम अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिँदै सो योजनाको अन्तिम प्रारूप अबको १ हप्तामा तयार हुने जानकारी दिए ।
प्रतिक्रिया