बाजुरा, २८ वैशाख । जिल्ला प्रहरी कार्यालयले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । बजारमा मदिरा सेवन गर्ने अधिकाँशलाई प्रहरीले गिरफ्तार समेत गरिरहेको छ ।
प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जिल्लामा अत्यधिक मदिरा सेवन गरेर सवारी चलाउने गाडी चालकलगायत जाँड खाने यूुाहरुलाई सार्वजनिक मुद्दा चलाइसकेको बताएका छन् । खुलेआम मदिरा बिक्री वितरण गर्ने व्यापारीलाई समेत प्रहरीले सम्झाएर खुल्ला विक्री बन्द गर्न अनुरोध गरेको छ भने कसैले नियम विपरीत काम गर्ने प्रयास गरेमा कानुनी दायरामा ल्याउनेसमेत प्रहरीले जनाएको छ ।
केही महिना पहिले सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक बोगटीले गरेको सकारात्मक कामलाई स्थानीयले समेत साथ दिएका छन् । जिल्लाका अधिकांश ठाउँमा जाँड खाएर होहल्ला गर्ने गाली बेइज्जत बोल्ने र कुटपिट गर्ने जस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै जाँदा प्रहरीमा समेत उजुरी गर्नेको संख्या वृद्धि भएको थियो । सामाजिक रुपमा विकृति फैलिएको भन्दै प्रहरीले जाँडरक्सी नियन्त्रण कार्य अघि बढाएको हो ।
खाद्य संकट खेपिरहेको अवस्थामा स्थानीय होटल व्यवसायीहरु खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाउन सक्रिय भएको भन्दै प्रहरीले सदरमुकामका केही होटलमा छापा मारेर अवैध घरेलु मदिरा बरामद गरी नियन्त्रण गरिरहेको छ । हालसम्म प्रहरीले ९ सय १२ लिटर अवैध मदिरा जफत गरी नस्ट गरिसकेको जानकारी गराइएको छ भने बाजुरा जिल्लाको कोल्टी, पिलुचौर, विच्छयाँ प्रहरी चौकी र जिल्ला प्रहरी कायालयको टोली ठाउँ ठाउँमा परिचालन भएका छन् ।
प्रहरीको सक्रियतापछि बजारमा शान्त वातावरण भएको, जाँडरक्सी खाएर होहल्ला गर्नेको संख्या कम भएको उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया बताए । बाजुरा जिल्लामा वर्षेनी खाद्य संकट हुने गरेको भए पनि स्थानीय होटल व्यवसायीहरुले चामल, कोदो, जौ आदि अन्न प्रयोग गरी घरेलु मदिरा बनाई बिक्री वितरण गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले छापा मारेको प्रहरीले सौर्य दैनिकसँग बताए । मदिरा सेवनकै कारण घरेलु झैँझगडा हुनुका साथै समाजमा नराम्रो विकृति सिर्जना हुने भएकाले घरेलु मदिरा नस्ट गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए । बोगटीका अनुसार बाजुरामा घरेलु मदिरा प्रतिबन्ध गर्ने तथा घरेलु मदिरा विक्री गर्ने र खानेलाई कानुनको दायरामा ल्याउनेसमेत ल्याइने छ । बाजुरामा मदिरा नियन्त्रण गर्न सहयोगका लागिसमेत प्रहरीले सम्पूर्ण बाजुरावासीलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया