‘पर्ख र हेर’ भारतको नीति

काठमाडौं, २८ वैशाख । भारतले पछिल्लो समय नेपालमा विकास भइरहेको राजनीतिक घटनाक्रमबारे ‘पर्ख र हेर’ को नीति लिएको भारतीय अखबार टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ । नेपालको घटनाक्रमलाई मौनतापूर्वक अध्ययन गरिरहेको भारत नेपालको आन्तरिक बहसमा आफूलाई मुछिएकोमा असन्तुष्ट रहेको समाचारमा उल्लेख छ ।

‘घटनाहरूको पछिल्लो विकासक्रमले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा लिएको अग्रसरतालाई क्षतिग्रस्त तुल्याएको छ,’ अखबारले लेखेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्धलाई रसातलमा पुगेको समाचारमा उल्लेख छ । भारतीय हस्तक्षेपबाट मुक्त हुने नाममा ओलीले चाइना कार्ड खेलेको भारतीय आरोप छ ।

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपालका प्रधानमन्त्री ओलीले कांग्रेस र मधेसी मोर्चासँग समझदारी गर्न नसकेको बताए । भूकम्पपीडितलाई राहत दिन कुनै काम नभएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रियताको कार्ड खेलेर ओलीले आफ्नो सबै समस्याको दोष भारतलाई लगाएका छन् ।’

समाचारमा अगाडि लेखिएको छ, ‘प्रधानमन्त्री ओलीले गत फागुन दोस्रो साता भएको आफ्नो भारत भ्रमणका क्रममा राजनीतिक र संवैधानिक समस्या वार्ता र संवादबाट समाधान गर्न सरकार तयार रहेको बताएका थिए । साथै आफ्नो भ्रमणले भारतसँगका असमझदारीहरू अन्त्य भएको दाबी गरेका थिए । तर, २ महिनापछि नै नेपालका आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको आरोप लगाएपछि द्वीपक्षीय सम्बन्ध तनावपूर्ण बनेको छ ।’

हालै मात्र नेपालमा सरकार गठनको प्रयास भएको थियो । ओली सरकारको विकल्पमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने प्रयास असफल भयो । प्रधानमन्त्री र एमालेले भारत सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए । तर, सरकार तत्कालका लागि जोगिएको छ । भारतीय स्रोतले भने दाहाललेले छिट्टै चुनौती दिने दाबी गरेको छ । पूर्वविदेश सचिव श्याम शरण भन्छन्, ‘यो घटनामा नेपालको राजनीतिमा असामान्य होइन । तर, भारतविरुद्ध प्रचार बढ्दो छ ।’

दाहाल किन परिर्वतन भए र ओली सरकारलाई समर्थन गर्न पुगे भन्ने प्रश्नमा स्रोतका हवाला दिँदै दाहाललाई मधेसबाट समर्थनको विश्वास नभएको टाइम्स अफ इन्डियाको समाचारमा दाबी गरिएको छ । यसका अतिरिक्त, नेपालको उत्तरी छिमेकी चीनले दाहाललाई रोकेको र वामपन्थीहरूको सरकारलाई कायमै राख्न भनेकोसमेत उसको दाबी छ ।

प्रतिक्रिया