मेलम्चीको पानी डेढ वर्षभित्रै : मन्त्री सिंह

काठमाडौं, २७ वैशाख । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना बढीमा डेढ वर्षभित्रमा काठमाडौं आइपुग्ने बतएका छन् । उनले त्यसका लागि करिब ६० प्रतिशत काम भइसकेको जानकारी दिँदै भने, ‘एक वर्षभित्र टनेलको काम सकिन्छ, अरु ६ महिनामा सबै काम सकेर काठमाडौंमा मेलम्ची आइपुग्छ ।’

विभागका महानिर्देशक रामचन्द्र देवकोटाले भूकम्प प्रभावित जिल्लाका जनतालाई तत्काल खानेपानी र सरसफाइको सुविधा पु¥याउने लक्ष्यअनुरुप विभाग अघि बढेको बताए । खानेपानी तथा ढल निकास विभागले भूकम्प प्रभावित जिल्लाका खानेपानी र सरसफाइ संरचनाको पुनर्निर्माण सुरु गरेको छ ।

गत वर्षको भूकम्पबाट क्षति पुगेका ३१ मध्ये १४ जिल्लालाई अति प्रभावित र १७ जिल्लालाई मध्यप्रभावित घोषणा गर्दै पुनर्निर्माणसँगै पुनर्संरचना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । अति प्रभावित जिल्लामा गोरखा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र ओखलढुंगा छन् । त्यस्तै अन्य प्रभावितमा धनकुटा, खोटाङ, सोलुखुम्बु, तनहुँ, बाग्लुङ, गुल्मी, पर्वत, पाल्पा, नवलपरासी, म्याग्दी, चितवन, लमजुङ, कास्की, स्याङ्जा, भोजपुर, संखुुवासभा र अर्घाखाँची छन् ।

देशभर करिब ५ हजार २ सय खानेपानी योेजनाका संरचनामा क्षति पुगेको छ । ती संरचनाको मूल्यांकन गर्दा ११ अर्ब बराबरको भौतिक क्षति हुन आएको विभागको भनाइ छ । पुनर्निर्माणका लागि झन्डै १८ अर्ब लाग्ने तथा ५ वर्षभित्र काम सकिने जिकिर छ । यद्यपि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत ८४ करोड १६ लाख ८४ हजार छुट्याएको र बाँकी विभिन्न दातामार्फत जुटाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया