बौद्ध सम्मेलनले भ्रम चिर्छ : प्रधानमन्त्री

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २५६०औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको सोमबारको बैठकमा उनले बुद्धसम्बन्धी भएका भ्रमहरूलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘बुद्धसम्बन्धी कता कति भ्रम छ, त्यो कम प्रचार भएर भएको हो, अन्तर्राष्ट्रिय जगतसहितको सम्मेलनले भ्रम चिर्न मद्दत गर्छ र बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्छ ।’

सिद्धार्थ गौतमले एकैपटक परिवार, दरबार र श्रीपेच छाड्नसक्नु बुद्धत्व प्राप्तबाट भएको उल्लेख गर्दै उनले भने, ‘असाधारण साहसिक, लोभ, मोह त्याग गर्न सक्नु ज्ञान प्राप्त नगरी सम्भव हुने थिएन ।’ प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिंगो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरू सबैको एक्यबद्धता रहेको बताए । नेपाल बुद्ध दर्शनको इतिहास थलोमात्र नभएर बुद्धका तीन सम्प्रदाय पनि नेपालबाटै सुरु भएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौंमा गर्न लागेको जानकारी दिए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको पुष्टि सम्मेलनले गर्ने बताए ।

उनले गौतम बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएका भन्ने सच्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचारसमेत गरिसकेको र दक्षिण कोरियाले बुद्ध भारतमा जन्मिएको भन्ने शब्द हटाएर नेपालमा जन्मिएको कुरा उल्लेख गरेको समेत जानकारी दिए ।

बैठकमा सहभागीहरूले गौतम बुद्ध नेपाल नभई अन्य देशमा जन्मिएको भन्ने कुरा प्रचार प्रसारको कमीका कारण भएको र ऐतिहासिक सम्मेलनले बुद्धसम्बन्धी सम्पूर्ण भ्रम अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । ‘लुम्बिनी, नेपाल ः भगवान् बुुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल’ भन्ने नाराका साथ आगामी ७ र ८ जेठमा अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौंमा तथा २५६०औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा ८ जेठमा मनाइने भएको हो ।

प्रतिक्रिया