गोरखा सदरमुकामै खानेपानी आपूर्ति अवरुद्ध

गोरखा, २७ वैशाख । गोरखा सदरमुकाममा विगत ३ महिनादेखि खानेपानी आपूर्ति अवरुद्ध हुँदै आएको छ । पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गोरखा नगरपालिका–३ स्थित जिविस चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्मका ३० वटा घरमा खानेपानी वितरण गर्न नसकेको हो ।

फागुनदेखि धारामा पानी नआएपछि स्थानीय उपभोक्ताले संस्थाको कार्यालयमा निवेदन दिएका छन् । ‘पानी नहुँदा दैनिक जीवनयापनमा समस्या भयो,’ स्थानीय ऋषिराम देवकोटाले भने, ‘पानी नआए पनि मासिक शुल्क तिर्दै आएका छौँ ।’ संस्थाले उपभोक्तासँग मासिक न्यूनतम ३ सय शुल्क उठाए पनि खानेपानी वितरण गर्न सकेको छैन ।

जिविस चोकदेखि प्रशासन कार्यालयसम्म होटल तथा सरकारी कार्यालय छन् । पानीको अभावले जिल्ला मालपोत कार्यालय, सिँचाइ, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, विद्युत् कार्यालयलगायत कार्यालयमा सेवाग्राही र कर्मचारीले समस्या खेप्दैआएका छन् । ढुंगेधारामा पानीको स्रोत सुक्दै गएपछि पानीको चरम समस्या थपिएको छ ।

भूकम्पपछि हरमटारी क्षेत्रका इनारमा पानी सुकेको छ । आकासे पानी नपरेको वर्षदिन भएको छ । स्थानीयवासीले संस्थाले वितरण गरेको खानेपानी नआएपछि आफूहरूले दुःख पाएको गुनासो गरेका हुन् । उपभोक्ताहरू खडानन्द रेग्मी, मैया दाहाल, लीलाप्रसाद रेग्मी, भवलाल श्रेष्ठ, भरत श्रेष्ठ, मनबहादुर गुरुङ र अञ्जन खत्रीले संयुक्त रूपमा संस्थामा निवेदन दिएका हुन् ।

सदरमुकामका घरमा खानेपानी वितरण गर्ने जिम्मा लिएको संस्थाले विभिन्न कारण देखाएर नियमित पानी वितरण गर्न सकेको छैन । एक सातामा एक÷दुईपटक मात्रै धारामा पानी आउने भन्दै उपभोक्ता रुष्ट भएका छन् । संस्थाका अध्यक्ष विनोद अर्यालले मागअनुसार खानेपानी आपूर्ति गर्न नसकिएको बताए । ‘पाइपमा पानीको लेभल कम भएर पानी नचढेको देखियो,’ उनले भने, ‘चार र पाँच नम्बरको ट्यांकीमध्ये कुन ट्यांकीको पानी चढ्छ त्यही ट्यांकीको पानी जोडेर सहज बनाउँदैछौँ ।’ गेट बल राखेर भए पनि पानी सञ्चालन गर्ने उनले बताए । जिविस चोक (५ नम्बर ट्यांकीको अन्तिम बिन्दुमा) खाल्डो खनेर गेट बल्व राख्ने काम सुरु गरिएको छ ।

प्रतिक्रिया