कारागारमा खानेपानी अभाव

उदयपुर, २५ बैशाख । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको उदयपुर जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ । दिनहुँ २० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा ५ हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएपछि कारगारका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरू मारमा परेका छन् ।

त्रियुगा शहरी खानेपानी आयोजनाबाट कम पानी आउने र भण्डारण गर्ने ट्यांकीको क्षमतासमेत सीमित भएकाले पानीको समस्या उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ । कम पानी उपलब्ध भएपछि कारागार भित्र अहिले कैदीबन्दीहरू आ–आफ्नो पानी संकलन गर्ने भाडा लिएर अबेर सम्म लाईन लाग्ने गरेका छन ।

५० जना कैदी बन्दीको लागि खानेपानीको व्यवस्था भएपनि ६० जना सुरक्षाकर्मी सहित १ सय ४० जना बन्दी भए पछि बिहानपख शौचालय जान पालो कुर्नुपर्ने अवस्था रहेको जेलर सीताराम कार्कीले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा एक जना व्यक्तिलाई दैनिक ६० लिटर र शहरी क्षेत्रमा सय लिटर पानी आवश्यक हुने भएपनि उनीहरू अहिले २० लिटर पानीले जीवन धान्न वाध्य छन् । पानी अभाव हुँदा त्रियुगा नगरपालिकाको वारुण यन्त्रबाट समेत पानी बोकेर पानी प्रयोग गर्ने गरिएको कारगारका जेलर कार्कीले जानकारी दिए । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कारागारको भान्सा कोठा कार्यालय संचालन गर्ने कोठामासमेत महिला कैदीबन्दीलाई राखिएको छ । २०४२ सालमा पुरुष कैदीबन्दीका लागि मात्र राख्न निर्माण गरिएको भवनमा महिला तथा बालबालिकालाई समेत राखिएको छ ।

प्रतिक्रिया