कुटपिट तथा यौन दुव्र्यवहारपछि जर्बजस्ती मिलापत्र

खोटाङ, २४ वैशाख । दिक्तेलस्थित एक होटलमा काम गर्ने मजदुर महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारको घटना जबर्जस्ती मिलापत्र गराइएको छ । घरेलु हिंसामा परी घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी महिला र उनकी छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यबहारको घटना पीडितलाई दबाब दिएर मिलापत्र गराइएको पाइएको हो ।

काठमाडौं माइती भइ खोटाङको चिउरीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२, स्थित होटल शुभदिनका सञ्चालक हरिप्रसाद आचार्य र प्रबन्ध निर्देशकका छोरा कविराज आचार्यले वैशाख १४ कुटपिट तथा यौन दुव्र्यवहार गरेका थिए । घटनाको विषयमा जिल्लास्थित महिला अधिकारकर्मीहरू लगातार पीडितको पक्षमा लागेको भए पनि पीडितले न्याय पाउन नसकेकोप्रति जिम्मेवार व्यक्तिहरू निराश भएका छन् ।

महिलाको रक्षाको कुरा गर्नेहरू नै भक्षक भएर निस्किएपछि हामीले केही गर्न नसकिएको एमाओवादी निकट महिला संगठनका निशाना राईले जानकारी दिएकी छन् । ‘पीडकले हामीलाई पनि सबै मिलेर मिलाउँ भन्दै थिए ।’ उनले भनिन्, ‘हामीले कारबाही हुनुपर्छ भनेपछि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको रहेछ ।’

पीडित महिलाले २०६९ सालमा चिउरीडाँडा गाविस–८ का गणेश तामाङसँग विवाह गरेकी थिइन् । पतिले घरमा छाडेर काठमाडांै गइ बसेपछि घरका सासू, जेठानी दिदीलगायतले खान लाउन नदिइ घरबाट निकाला गरेपछि पीडित महिला दिक्तेलस्थित बालसेवा समाज नेर्पा खोटाङको संरक्षणमा बसेकी थिइन् । उनलाई केही महिनाअघि मात्र उक्त होटलमा लगिएको थियो ।

गत माघ २३ गतेदेखि उक्त होटलमा कार्यरत ती महिलालाई सञ्चालक आचार्यले यौनिक आशयले जिस्क्याउने, संवेदनशील अंगहरू छुने गरेको उजुरीमा उल्लेख छ । निर्देशकका छोरा कविराजले नाबालिका छोरीलाई ललीपप देखाउँदै एक्लै कोठामा लगेर नांगै बनाएर यौनाङ खेलाउने तथा यौनाङमा टोकेर घाउसमेत बनाइ दिएको निवेदनमा उल्लेख गरिएको छ ।

होटलमा उक्त घटनाहरू घटिरहँदा पीडित महिलालाई होटलमा बस्न आएका एक ग्राहकको मोबाइल चोरेको आरोप लगाइ होटलका प्रबन्ध निर्देशक रिजालकी पत्नी कोपिलादेवीले रातको समयमा कोठामा थुनी अन्य मजदुरहरूलाई कुटपिट गर्न लागाएकोसमेत निवेदनमा उल्लेख गरिएको छ । घटनाको विषयमा जिल्लास्थित महिला अधिकारकर्मीहरू दुई ठाउँमा विभाजितसमेत भएका छन् । एक पक्षीय महिलाहरूले घटनालाई कोठाभित्रै मिलाउने प्रयत्नमा लागेका थिए । उनीहरूको पक्षमा सरकारी तथा गैससका मान्यगन्य व्यक्तित्व साथमा छन् । अर्को पक्षीय महिलाहरू अपराधीलाई कारवाही गरी पीडितलाई न्याय दिलाउने पक्षमा छन् । उनीहरूको पक्षमा कमजोर व्यक्तित्व छन् ।

घटनाको विषयमा भएको छलफलमा एक सहभागीका अनुसार निर्देशक रिजालले पीडित महिलालाई घटनाको विषयमा मुद्दा दिएमा पीडितका पुराना कुराहरूसमेत निकालेर बेइज्जत गरिदिने धम्कीपूर्ण कुरा गरेका थिए । निर्देशकको कुरा सुनेपछि ती महिलाले हाल घाउ जाँच केश फारम गराउनभन्दा अन्य कानूनी प्रक्रिया अघि बढाएकी छैनन्् । पीडितले प्रहरीमा दिएको घाउ जाँच केश फारमको निवेदनको आधारमा अस्पतालको तर्फबाट जाँचगरि प्रहरीलाई पठाएको जिल्ला अस्पताल खोटाङका डाक्टर टंक कार्कीले बताए । पीडितको घाउ जाँच केस फारम कार्यालयमा आइपुगेको तर, सो फारमको आधारमा आरोपितलाई कारबाही गर्न नसकिने प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

घटनाको विषयमा महिला अधिकारकर्मी पूर्णमाया तामाङले अभियोग लागेका अभियुक्तलाई कानुनी कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने बताएकी छन् । हाल पीडित महिला र छोरी एमाले खोटाङकी जिल्ला कमिटी सदस्य संगीता राईको साथमा छिन् ।

महिला अधिकारको क्षेत्रमा समेत कार्यरत एमाओवादीकी नेतृ तथा पूर्व सभासद् दुर्गाजयन्ती राईले पीडितमाथि हदैसम्मको अन्याय भएको भए पनि सरकारी तथा गैरसरकारी निकायको सही सहयोग नपुग्दा आरोपितले उन्मुक्ति पाइरहेको बताए । ‘अत्यन्तै गम्भीर प्रकृतिको यस घटनाको ढाकछोप भएको छ ।’ उनले भनिन्, ‘यसमा कानुन व्यवसायीदेखि सरकारी अधिकारीसमेत संलग्न छन्, पीडितको पक्षमा हामी लडिरहन्छौं ।’ घटनाको विषयमा दुवै पक्षबीच छलफलको आयोजना गरेर पीडित महिलाको स्वीकृतिमा मिलापत्र गराइएको संगीताले बताएकी छन्।

प्रतिक्रिया