काठमाडौं, २१ वैशाख । ‘मिस नेपाल कल्चर’ दोस्रो संस्करणको उपाधि सामाखुसीकी २४ वर्षिया उरुषा जोशीले हात पारेकी छन् । उनले सोमबार राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सो उपाधिसहित चाँदीको ताज, फोक्सवागेनका तर्फबाट १ वर्षसम्मका लागि कार सेवा जितेकी हुन् ।
यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सद्भावदूतको उपाधिसमेत जोशीले हासिल गरेकी छिन् । प्रतियोगितामा २८ प्रतियोगी सहभागी थिए । जसमध्येबाट परिसी कारञ्जितले फस्ट रनर अपको उपाधिसहित विभिन्न उपहार हासिल गरिन् । यस्तै बिराटनगरकी २० वर्षिया बाला नेपालीले सेकेन्ड रनर अपसहित भिवर्स च्वाइस र मेनेजमेन्ट च्वाइसको उपाधि पनि हासिल गरेकी छन् ।
युहान इन्टरनेसनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सह–आयोजना र विलक्षण क्रियसनको व्यवस्थापन सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताको मूल्यांकनकर्ताको रूपमा पूर्वमिस नेपाल उषा खड्गी, चलचित्र निर्देशक दिनेश डिसी, अभिनेता गजित विष्ट, चलचित्र द्वन्द्वनिर्देशक चन्द्र पन्त, अग्रज कलाकार प्रभाकरदेव शर्मा, अन्तर्राष्ट्रिय इभेन्ट अग्रनाइजर नासिर हुसेन, मिस प्लस टु नेपाल २०१५ तथा अभिनेत्री आँचल शर्मा र फेसियल हाउसकी प्रबन्धनिर्देशक सुष्मा महरा थिए ।
प्रतिक्रिया