चाँदी र सुर्तीसहित तीन युवा पक्राउ

उदयपुर १७ वैशाख । अज्ञातस्थलबाट अवैध चाँदी र सुर्तीजन्य पदार्थ भित्र्याइरहेको अवस्थामा उदयपुरको कटारी नगरपालिकाबाट ३ युवा पक्राउ परेका छन् । सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सडकखण्डको कटारी नगरपालिका बेलसोत प्रहरी चौकीले नियमित चेकजाँचको क्रममा अवैध चाँदीसहित पुरुषोत्तम विक र बुद्धसेन रसाइलीलाई बिहीबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

दुधौली नगरपालिका–५ सिन्धुलीका ३७ वर्षीय विक र सप्तरी लालपटिया गाविस ४ का २४ वर्षीय रसाइली सवार स ५ प ३४७८ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको अवस्थामा १ किलो ८ सय ग्राम चाँदी बरामद भएको इप्रका कटारीका डिएसपी दीपक बस्नेतले बताए । उनीहरूको साथबाट भेटिएको चाँदीको बिल भरपाई नभएकाले अवैध ठहर गरी बरामद गरिएको हो । विक र रसाइलीलाई पक्राउ चाँदी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि शुक्रबार क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

त्यसैगरी सोही लोकमार्ग भएर भित्रिदै गरेको अवैध गुट्खा, तुलसीपत्ता, पान पराग, रजनीगन्धालगायत ३६ हजार हाराहारीको अवैध सुर्तीजन्य पदार्थसहित अर्का १ जना पनि प्रहरीको फन्दामा परेका छन् । बिहीबार साँझ मिर्चयादेखि कटारीतर्फ आइरहेका कटारी नगरपालिका–६ का २२ वर्षीय रमण चौधरी सवार स ९ प ७८१८ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा सो अवैध सामान बरामद भएको इप्रका कटारीले जनाएको छ । प्रहरीले उनको साथबाट रजनीगन्धा, राजिस गुट्खा, महावीर तम्बाखु, तुलसीपत्ताजस्ता सुर्तीजन्य पदार्थ विनाबील भपाई फेला परेकाले बरामद गर्दै मोटरसाइकल र चौधरीलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चौधरी र मोटरसाइकलसहित पक्राउ सबै सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लाहान पठाइएको डिएसपी बस्नेतले बताएका छन् ।

प्रतिक्रिया