सहायकमन्त्रीमा लामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका छन् । राप्रपा नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई सो पदमा नियुक्त गरिएको हो । शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरेका छन् । (सौस)
एकै घरमा ४ को हत्या
सल्यान । सल्यानमा एकै घरका ३ को हत्या भएको छ । मंगलबार राती छायाँ क्षेत्र गाविस–९ रानागाउँमा ४ जनाको सामूहिक हत्या भएको हो । रानागाउँकी २३ वर्षीया सीताखान ठकुरी, ३ वर्षीया छोरी पवित्राखान ठकुरी, १ वर्षीया सविताखान ठकुरी र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिए । बिहानसम्म पनि घरमा कोही पनि बाहिर नदेखेर छिमेकी घर पुग्दा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख क्षेत्रीले बताए । (सौस)
गठबन्धनको ज्ञापन
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले विगतको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको प्रतिवेदनअनुरूप तराईमा २ प्रदेश बनाइनुपर्ने माग गर्दै बुधबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौंसहित ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत २६ बुँदे मागसहितको ज्ञापन प्रधानमन्त्रीलाई बुझाएको गठबन्धनको एकघटक सद्भावना पार्टीका महासचिव मनिस सुमनले जानकारी दिए । ज्ञापनपत्रमा पहिचान र सामथ्र्यका आधारमा लिम्बुवान, ताम्सालिङ, किरात, मगरात, शेर्पा, नेवाःलगायत १० प्रदेश बनाउन माग गरिएको छ । (सौस)
प्रतिक्रिया