सोल, १४ वैशाख । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले फेरि पनि अर्काेपटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको बताएका छन् । उत्तर कोरियाले पुनः अर्काे ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशंका यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए ।
यसअघि पनि उत्तरको यस्तो आशंकाका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रूपमा सतर्क रहन निर्देशन दिएको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने संकेत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । ती सञ्चारले दिएको जानकारीअनुसार उत्तर कोरियाले शुक्रबारै यस्तो परीक्षण गर्ने जनाएका छन् ।
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरि पनि अर्काे मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाली राष्ट्रपति हाइले मंगलबार सोलमा जम्मा भएका सम्पदकहरूसँग बताए । उत्तर कोरियाले अब अर्काे पाँचौँपटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको सूचना आफूले पाएको बताए ।
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि उसले केही हप्ता मात्र अघि अर्काे परीक्षण गरेको थियो । उत्तर कोरियाले २ हप्ता मात्र अघि पनि यस्तै ब्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । गतमहिना मात्र अघि संयुक्त राष्ट्रसंघले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुँदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढंगले सोच्न थालिएका समाचारहरू प्राप्त भइरहेका छन् ।
प्रतिक्रिया