काठमाडौं, १२ वैशाख । विशेष अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्य प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले अनुसन्धानका लागि पक्राउ परेको मितिले १० दिन थुनामा राख्न आदेश दिएको हो ।
अकुत सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकारसमेत रहेका दीक्षितलाई यही चैत १० गते पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिहेका दीक्षितलाई भने उपस्थित गराइएको थिएन ।
अख्तियारका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २ सय ८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९ सय २६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा ४ हजार १ सय २६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ । कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारतको दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।
त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संस्थाबाट रु ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत ५ करोड आम्दानी गरेको भए पनि आम्दानीभन्दा बढी ७ करोड रूपैयाँ खर्च गरे पनि त्यसको आधार प्रष्ट नदेखिएको जनाइएको छ ।
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर ४ लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, ललितपुर लामाटार–७ मा अवस्थित जग्गा किर्ते गरी बेचबिखन गरेको र मोही एवं गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।
त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट टे«डिङ कर्पोरेसनलाई तिर्नुपर्ने १ लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार ५ सय ८९ रूपैयाँ अझैसम्म नतिरेको र सरकारी संस्थालाई घाटा पु¥याएको अध्ययनबाट देखिएको छ ।
प्रतिक्रिया