कपाल प्रत्यारोपणसम्बन्धी गोष्ठी

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबारदेखि कपाल प्रत्यारोपणसम्बन्धी २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरूको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइनेछ ।

तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत ६ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारोपण गरेको छाला तथा चर्मरोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले जानकारी दिए । एक व्यक्तिमा कम्तीमा ५ सयदेखि ३ हजार ५ सय वटासम्म रौँ प्रत्यारोपण गरिनुपर्ने र प्रति रौँ रोपणका मूल्य ६० रुपैयाँ पर्ने उनको भनाइ छ ।

कपाल बढी भएको ठाउँबाट एक–एक गरी निकालेर नभएको ठाउँमा रोपिने (एफयुटी) विधि र टाउको पछाडिको कपाल छालैसमेत काटेर निकाली नभएको ठाउँमा रोपिने (एफयुई) विधिमार्फत कपाल प्रत्यारोपण गरिन्छ । डा. कर्णले कपालको प्रत्यारोपण छाला रोग विशेषज्ञले मात्रै गर्नुपर्ने र प्रत्यारोपणबाट झन्डै ४ महिनाको अवधिमा सन्तोषजनक परिणाम आउने बताए । (सौस)

प्रतिक्रिया