काठमाडौं, १ वैशाख । ‘मलमल किरी जुनकिरी’, ‘चरीचुच्चे च’, ‘माया बस्यो जिरी बजारमा’, ‘बिहे भा’छैन’, ‘पोइल जान पाम’लगायत लोकगीतबाट चर्चित गायिका कोमल वली नयाँवर्षकै दिन जन्मेकी हुन् । नयाँवर्षको अवसरमा गैर आवासीय नेपाली संघ, मस्कोको आयोजनामा आउँदो आइतबार हुने सांगीतिक कार्यक्रमका लागि हाल रुसको राजधानी मस्कोस्थित सेन्ट पिटसबर्ग सहरमा रहेकी कोमल आफ्नो उमेर खुलाउन चाहँदिनन् ।
तर, ०४६ सालमा रेडियो नेपालले आयोजना गरेको ‘राष्ट्रिय लोकदोहोरी प्रतियोगिता’मा दोस्रो स्थान हासिल गरेकी वलीले नारायणगोपाल युवा संगीत पुरस्कार, गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत चर्चित पुरस्कार जितेकी छिन् । सञ्चारकर्मी र फिल्म अभिनेत्रीको समेत परिचय बनाएकी गायिका कोमलले करिब १ दशकदेखि आफ्नो जन्मदिन नेपालमा मनाउन नपाएको दुखेसो पोखिन् । ‘विदेशका साथीहरूसँग रमाइलो त गरिन्छ तर बाहिर जति रमाइलो गरे पनि परिवारको यादले भित्री मन नरमाउने रहेछ ।’ उनले भनेकी छन् । उनले भनिन्, ‘झन् यसवर्ष त आमा रुनु नै भएपछि मन कुँडियो । उहाँ हत्तपत्त चित्त दुखाइहाल्ने मान्छे हुनुहुन्थेन । नेपालमै छँदा पनि कार्यक्रम परिरहँदा आमासँग जन्मदिन मनाउन नपाएको धेरै वर्ष बितेछ । बिहानै फोन गरेकी थिएँ, तँ चाँडवाडमा पनि हुँदिनस, जन्मदिन, नयाँवर्षमा पनि हुँदिनस् । कमसेकम जन्मदिनमा त यतै बस, मन्दिर गएर दर्शन गर भनेर रुनुभयो ।’
अप्रिलमा रुसका लागि यात्रा तय गरेकी कोमललाई यसवर्षको जन्मदिनमा रुसका शुभचिन्तकले फूल उपहार दिएछन् । बितेका वर्षभैmँ यसवर्ष पनि ‘यादगार उपहार’ नआएको उनको भनाइ छ । ‘मलाई उपहारमा त्यति रुची लाग्दैन । अरू बेला घडी, मोबाइलजस्ता उपहार पाइन्छ । तर, जन्मदिनमा त्यस्तो विशेष उपहार पाएको सम्झना छैन ।’ बिहेको प्रस्तावचाहिँ आयो कि ? उनलाई पहिलेपहिलेका वर्षहरूमा बिहेका थुप्रै प्रस्ताव आउँथे रे ! धेरैजसोले अप्रत्यक्षरूपमा बिहेको प्रस्ताव राखे पनि यसवर्ष भने कसैले पनि बिहे प्रस्ताव नराखेको उनको भनाइ छ । घरबाट पनि बिहेको दबाब नआएको उनले बताइन् । ‘आमालाई त म बच्चै छुजस्तो लाग्छ ।’ उनले भनिन्, ‘मलाई घरपरिवारले राम्रोसँग बुझेको छ । त्यसैले मलाई अहिलेसम्म बिहे गर्नुपर्छ भनेर भन्नुभएको छैन ।’ उनी आफैंलाईचाहिँ यसवर्ष ‘अबचाहिँ बिहे गर्नुपर्छ कि’ भन्ने लाग्यो रे । रुसका लागि लामो जहाज यात्रामा उनको मनमा बिहे गर्ने सोच पलाएछ ।
प्रतिक्रिया