काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाको विभिन्न सडकमा ७ हजार ६ सय ५३ वटा ‘सौर्य सडकबत्ती’ जडान गरिने भएको छ । करिब ९५ करोड रुपैयाँको लगानीमा महानगरपालिकाले बत्ती जडान गर्न लागेको हो ।
भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २ सय निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडकबत्ती जडान गर्न लागिएको हो । निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार आएका सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पढाइसकेको र केही समयमा नै काम सुरु हुन्छ ।
सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआए पनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरको भनाइ रहेको छ । चैत महिनाको पहिलो साताबाट निवेदनका लागि समय सकिएको भए पनि अहिले पनि निवेदन आउने क्रम जारी रहेको छ ।
आएका निवेदनमध्ये सबैभन्दा बढी महानगरको वडा नं ६ र त्यसपछि ३५ वडाबाट सौर्यबत्ती जडानका लागि निवेदन आएको छ । आएकामध्ये अधिकांश व्यक्तिगत निवेदन नै रहेको छ । सार्वजनिक संघसंस्था रहेको स्थान आसपासको सडक छेउमा बत्ती राख्नका लागि भने अत्यन्तै कम ३ वटा निवेदन आएका छन् । सौर्यबत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नेछन् । विद्युत्भार कटौतीको समयमा राजधानीलाई उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको रेग्मीको भनाइ छ ।
त्यस्तै राती आवागमन सहज हुने, दुर्घटना कम हुने र आपराधिक क्रियाकलाप कमी ल्याउन सहयोग पुग्ने अपेक्षासहित सौर्यबत्ती कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय, अस्पताल, सार्वजनिक संघसंस्था र सेवामूलक क्षेत्रलगायतले संस्थागत रूपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्नेछ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्नेछ ।
प्रमुख रेग्मीका अनुसार पोलसहित एउटा सौर्यबत्ती जडान गर्न १ लाख रुपैयाँसम्म लगानी लाग्नेछ । १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य सडकबत्ती जडान गरिएको थियो ।
सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न १० करोड रुपैयाँको लगानी गरेको थियो । त्यसबेला १ सय ५० वटा सौर्यबत्ती राखिएका थिए । त्यतिबेला जडान भएका सौर्यबत्ती मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।
प्रतिक्रिया