आज नेपाल बारको निर्वाचन

bar_election copy

काठमाडौं, १९ चैत । नेपाल बार एसोसिएसनको शनिबार हुने निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनाली र लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्दै छन् । दुवैले आआफ्नो समूहले जित्ने दाबी गरेका छन् ।

दुवै समूहले छुट्टाछुट्टै प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । लोकतान्त्रिक समूहले व्यावसायिक हकहित, सम्मान र सुरक्षा, प्राज्ञिक तथा व्यावसायिक क्षमता विकासको अभिवृद्धि, स्वतन्त्र र सक्षम न्यायपालिका, अन्तर्राष्ट्रिय सहभागिता र सहकार्य, विकासवादअनुरूपको ऐननियमको निर्माण, भ्रष्टाचारविरुद्धको साझा अभियानलगायत प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रगतिशील पक्षले आफ्ना प्रतिबद्धतापत्रमा संविधान कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने, स्वतन्त्र न्यायपालिका, सक्षम र जवाफदेही न्यापालिकाको सृदृढीकरणका लागि निरन्तर क्रियाशील रहने, न्यायपालिकामा हुने भ्रष्टाचार नियन्त्रण गर्ने, पेसागत सुरक्षा तथा व्यवसाय विस्तार गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सुदृढीकरण गर्नेलगायत विषय उल्लेख गरेको छ ।

बारको नयाँ कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा मैनाली, उपाध्यक्षमा पूर्वाञ्चलबाट टंक उप्रेती, मध्यमाञ्चल (उपत्यका बाहिर)बाट रामसहाय राय यादव र रमेश बडाल (उपत्यका), पश्चिमाञ्चलबाट गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चलबाट कलानन्द उपाध्याय र महिलामा उषा मल्ल पाठक रहेका छन् । त्यस्तै महासचिवमा दीनमणि पोखरेल र कोषाध्यक्षमा हरिबहादुर खड्का उम्मेदवार बनेका छन् ।

लोकतान्त्रिक समूहका अध्यक्षमा केसी, पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह, काठमाडौँ उपत्यका उपाध्यक्षमा मोतीराज गौतम, पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चलमा रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गंगाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाईं सापकोटाले उम्मेदवारी दिएका छन् । यसैगरी महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षका लागि ज्ञानरत्न शाक्यको उम्मेदवारी रहेको छ ।

बारको नयाँ कार्यसमितिको निर्वाचनमा लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको छ । मतदान केन्द्रमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, सिरहा, धनुषा, सर्लाही र काठमाडौं छन् । त्यस्तै मकवानपुर, चितवन, पर्सा, बारा, रौतहट, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, नवलपरासी, रुपन्देही, दाङ (तुल्सीपुर र घोराही), बर्दिया, बाँके, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुरमा निर्वाचन केन्द्र तोकिएको छ ।

पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । ९ हजार ५ सय २२ मतदाता छन् । बारको नयाँ कार्यसमिति निर्वाचनमा तोकिएका निर्वाचन केन्द्रमध्ये काठमाडौं निर्वाचन केन्द्रमा ५ हजार ८ सय ६२ मत रहेको छ । कुल मतदाता ९ हजार ५ सय २२ छन् ।

काठमाडौंपछि कास्की केन्द्रमा ४ सय १९ मत, बाँके केन्द्रमा २ सय ८६, मोरङ केन्द्रमा २ सय ४५, सप्तरी केन्द्रमा २ सय २७, सुनसरी केन्द्रमा १ सय ७६, चितवन केन्द्रमा १ सय ६४, धनुषा केन्द्रमा १ सय ६३, रुपन्देही(बुटवल) केन्द्रमा १ सय ५९, पर्सा केन्द्रमा १ सय ३९, झापा र रुपन्देही केन्द्रमा १ सय ३३ छन् । अन्य केन्द्रमा त्यसभन्दा कम मतदाता संख्या रहेको छ ।

मतदान बिहान ८ः०० बजेदेखि सुरु भएर ४ः०० बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले जानकारी दिए । निर्वाचनमा मतदाताले नेपाल कानुन व्यवसायी परिषद्ले जारी गरेको परिचयपत्र वा कानुन व्यवसायी प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रको सक्कल नै अनिवार्य रूपमा लिएर आउनुपर्नेछ । बारको निर्वाचन यसअघि पुसको २५ गते गरिँदै आएको भनिए तापनि मधेस–तराईको आन्दोलनका कारणले गर्दा ढिलाइ भएको हो ।

प्रतिक्रिया