नगरपालिकै पिच्छे हाइवेको मापदण्ड फरक

काभ्रे, १६ चैत । काभ्रेको नवनिर्मित नगरपालिकाहरूमा यतिखेर चरम विवाद देखिएको छ । नगरपालिकै पिच्छे हाइवेको मापदण्ड फरकफरक भएकाले यी नगरपालिकामा यो विवाद चुलिएको हो । काभ्रेको ४ नगरपालिकामा पर्ने हाइवेहरूको मापदण्डको विषयमा फरकफरक नियम लागू गरिएपछि स्थानीय र नगरपालिकाबीचको दुरी बढेको छ । काभ्रेको साँगादेखि चण्डेश्वरी खोलासम्म का हाइवेमा ७५ फिट (२२ मिटर) मा नक्सा पास बनेपा नगरपालिकाले गर्छ । बनेपा नगरपालिकाकै चण्डेश्वरी खोलादेखि धुलिखेल नगरपालिकाको सिमानासम्म ८२ फिट (२५ मिटर) कटाएर नक्सापास हुन्छ । यस्तै धुलिखेल नगरपालिकामा अरनिको तथा बिपी राजमार्गमा पनि ८२ फिट (२५ मिटर) कटाएर हाइवेको दायाँबायाँ नक्सा पास गरिन्छ । तर, नवनिर्मित काशिखण्ड नगरपालिकामा पर्ने बिपी राजमार्गको सेन्टर प्वाइन्टबाट १ सय १ फिट (३१ मिटर ) दायाँबाँया र पाँचखाल नगरपालिकामा भने सेन्टर प्वाइन्टबाट १ सय ८ फिट (३३ मिटर) दायाँबाँया अरनिको राजमार्ग र बेलामा पर्ने विपी राजमार्गमा जग्गा छोडी नक्सा पास हुने नगरपालिकै पिच्छे नियम लागू गरिएको छ ।

पाँचखाल नगरपालिकाका नगर अधिकृत वासुदेव भेटवालले उल्लिखित मापदण्ड लागू गरिएको र मापदण्ड विपरीत नक्सापास नगरिने बताए भने दाप्चा काशिखण्डका कार्यकारी अधिकृत डम्बर दाहालले पनि सोही नियम विपरीत नक्सापास नहुने बताएका छन् ।

यसअघि पनि काभ्रेको हाइवेको विवादले पटकपटक चरम आन्दोलनहरू स्थानीयवासीले गरेका थिए । बनेपाका स्थानीयले सर्वोच्च अदालतमा हाइवेकै विषयमा मुद्दा जितेको घटना भए पनि नगरपालिकाहरूमा राजमार्गको विषयमा फेरी विवाद चुलिएको छ । स्वर्गीय राजा विरेन्द्रले राजमार्ग खोल्दा कोही जनताहरू पनि सुकुम्बासी र उठिवास नहुन् भनेर सडकमा पर्ने सम्पूर्ण घरजग्गाको उचित मुअब्जा वितरण गरी अधिक्रमण गर्न सार्वजनिक सडक ऐन २०३१ बनाइबसेका थिए । सोही कानुन अनुरूप विपी राजमार्गको सडकमा १५÷१५ मिटर सडकको दायाँबाँया मात्र मुअब्जा दिएकोले अरू १०÷१० मिटरको मुअब्जाको विषय अझै विवादितै छ ।

अझ त्यसमा ६ मिटरभन्दा बढी जग्गा अतिक्रमणको विषयलाई बिपी राजमार्गका स्थानीयबासीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूका अनुसार नगरपालिकाको नियम कानुन विपरीत र यस नियमले राजमार्गमा बस्ने जनताहरूलाई सुकुम्बासी बनाउने नियत रहेको भन्दै चर्काे आलोचना हुन थालेको छ ।

दाप्चा काशिखण्ड नगरपालिकाले मुअब्जाबाहेक १६ मिटर अतिक्रमण गर्दा प्रायः सबै विपी राजमार्गका हाइवेबासीहरू सुकुम्बासीमा परिणत हुने सम्भावना छ । पाँचखाल नगरपालिकामा पनि हाइवेको मापदण्डभन्दा बाहेक ८ मिटर जग्गा छोड्नुपर्ने नियमले पाँचखाल नगरबासीहरू पनि आक्रोशित बनेका छन् ।

गाबिसबाट नगरपालिका हुँदा आफूखुसी भएको बताउने पाँचखाल बासीहरू यतिखेर उनीहरूलाई नगरपालिका टोक्नु न बोक्नुको विषय बनेको बताउने गरेका छन् । उनीहरू भन्छन्, ‘यस विषयमा हामी कडा रूपमा संघर्षमा उत्र्रन्छौँ । उनीहरूले एउटै राज्यमा फरकफरक नियम लागू किन गरियो ?’ सरकारलाई प्रश्न गरेका छन् । उनीहरूले नगरपालिकाको यस्तो नीतिप्रति कडारूपमा प्रतिकार गर्ने र आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् । यसै विषयमा डिभिजन सडक कार्यालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठलाई सम्पर्क गर्दा हाइवेको मापदण्ड सेन्टर प्वाइन्टबाट २५ मिटर भएको र भूकम्पपछि पनि कुनै परिवर्तन नभएको बताउँछन् । नगरपालिकाहरूलाई डिभिजन सडक कार्यालयबाट ३१ मिटर छाड्नु भन्ने कुनै पत्र आफूहरूले नपठाएको उनको जिकिर छ ।

बिपी हाइवेको सम्बन्धमा सो हाइवे हालसम्म राजपत्रमा यति नै मिटर भनेर उल्लिखित गरिएको छैन तर बिपी राजमार्गमा नामाकरण हुँदा २५ नै मिटर हुने सम्भावनाा छ । यस राजमार्गमा ठाउँ हेरेर कतै २५ मिटरको मुअब्जा वितरण गरिएको छ, त कतै १५ मिटरको मात्रै मुअब्जा दिइएको छ । बनेपा–बर्दिवास सडक योजनामा सम्पर्क गर्दा यस राजमार्गको सिन्धुलीदेखि धुलिखेलसम्म १५ मिटरको मुअब्जा दिइएको र सिन्धुलीदेखि बर्दिबाससम्म ठाँउ हेरेर २५ मिटरको मुअब्जा दिइएकोे छ । यसै सम्बन्धमा धुलिखेल नगरपालिकालाई तपार्इंहरूले १५ मिटर छोडेर २५ मिटरभित्र किन टहरा बनाउन स्वीकृत दिनुभएको भनी प्रश्न गर्दा उनीहरूले टहरा नक्सापासविना आफ्नो पूर्जाभित्रको जग्गामा बनाउनु भएको हो त्यो सडक डिभिजनले चाहेको खण्डमा भत्काउन सक्नेछ ।

प्रतिक्रिया