धनकुटा, १६ चैत । बिहिवारबाट सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) मा पूर्वाञ्चलवाट १ लाख ४१ हजार ६ सय ४७ जना विद्यार्थी सामेल हुने भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार पूर्वाञ्चलका १६ जिल्लाबाट नियमिततर्फ ९७ हजार १ सय ७३ र एक्जाम्टेडतर्फ ४४ हजार ४ सय ७४ विद्यार्थी परीक्षामा सामेल हुने भएका हुन् ।
जसमध्ये मोरङवाट सबैभन्दा बढी २१ हजार ८ सय ६३ र सबैभन्दा कम सोलुखुम्बूबाट २ हजार ६ सय ३८ विद्यार्थी सामेल हँुदै छन् । त्यस्तै बढी विद्यार्थी सामेल हुने जिल्लाहरूमध्ये झापाबाट १६ हजार ९ सय ७९, सुनसरीबाट १५ हजार ९ सय ४६, सप्तरीबाट १५ हजार ८ सय ५४, सिराहाबाट १३ हजार १ सय २९ र उदयपुरबाट १० हजार २ सय ८२ विद्यार्थी सामेल हँुदैछन् ।
एसएलसीका लागि पूर्वाञ्चलमा यसवर्ष ४ सय ७० परीक्षा केन्द्र तोकिएको निमित्त क्षेत्रीय शिक्षा निर्देशक मोहन राईले जानकारी दिए । यसवर्ष पूर्वाञ्चलमा कक्षा १० मा ९९ हजार ३ सय ३० जना विद्यार्थी भर्ना भएका थिए । जसमध्ये पूर्वाञ्चलका करिब २ हजार २ सय विद्यार्थीले एसएलसी परीक्षा दिन नपाउने भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेर तथा ४ सय ५० रुपैयाँ परीक्षा दस्तुर नबुझाएका कारण विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित बनेको निर्देशनालयले जनाएको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालयकाअनुसार सबैभन्दा बढी मोरङका ४ सय ७८ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । तुलनात्मक रूपमा झापा, सुनसरी, इलाम, पाँचथर र धनकुटामा पनि एसएलसी परीक्षा दिनबाट वञ्चित हुनेको विद्यार्थीको संख्या धेरै छ ।
यता पूर्वाञ्चलका १६ जिल्ला मध्ये उदयपुरमा मात्रै सबै विद्यार्थीले परीक्षा दिन पाउनेछन् । सप्तरीबाट भने परीक्षा दिन नपाउने अयोग्य विद्यार्थीको संख्या प्राप्त हुनबाँकी रहेको निमित्त क्षेत्रीय शिक्षानिर्देशक राईले जानकारी दिइन् । एसएलसीका लागि पूर्वाञ्चलका पहाडी जिल्लाहरूमा प्रश्नपत्र पुगिसकेको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया