भक्तपुर, १४ चैत । यही १८ चैतदेखि सुरु हुने यसवर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यसवर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र पुनःपरीक्षातर्फ १ लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ ३ हजार २ सय ५५ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।
परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यसवर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए ।
यसवर्षको परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कार्यालयले यसवर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरूको परिचयपत्र वितरण गर्ने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अंग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।
परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।
यसवर्षको परीक्षाको नतिजा अक्षरांक विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ । परीक्षाको मर्यादा विपरीत कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर १ लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया