फिदिममा अब घरघरमै खानेपानी

fidim_news copyपाँचथर, ११ चैत । फिदिम दोस्रो साना सहरी खानेपानी आयोजनाले फिदिमवासीलाई घरघरमा खानेपानी वितरण गर्ने भएको छ । फिदिम माथिल्लो गाउँमा निर्माण गरिएको प्रशोधन कक्षमा पानी झारेसँगै मुख्य काम सकिएको आयोजनाले जनाएको छ । पानी झरेपछि वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका फिदिम बासी नयाँ आयोजनाको पानी पिउन पाउनेमा ढुक्क भएका छन् ।

आयोजनाका अध्यक्ष तथा समाजसेवी गजाधर भट्टराईले कूल १५ सय घर परिवारले जेठसम्ममा नयाँ खानेपानी आयोजनाको शुद्ध पानी पिउन सक्ने बताए । उनका अनुसार अहिले फिदिमका धाराहरूमा बिहान बेलुका पानी आउने समय बढेको छ । सो विषयमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

फिदिम नगरपालिका–१ देखि ५ सम्मका उपभोक्ताको घरघरमा धारा र मिटर जडान गर्ने कार्य नसकिएसम्म आयोजनाले पुरानै पाइपलाइनबाट पानी वितरण गर्ने जनाएको छ । आयोजनाका कन्सल्ट्यान्ट तथा जनप्रिय युवा प्राविधिक ज्ञानु रिजालले मुहानदेखि प्रशोधन कक्षसम्मको १६ किलोमिटर पानी परीक्षण गरिएको र अब रिजर्भ ट्यांकदेखि वितरण लाइनसम्मको १० किलोमिटर मात्रै परीक्षण गर्न बाँकी रहेको बताए । उनले मूख्य पाइपलाइनमा ब्लग राख्न, विपिटी, फिल्टर मिडियाको काम पनि बाँकी रहेको बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख निरञ्जन खनालका अनुसार आयोजनाको काम गतवर्षका १७ असारमै सम्पन्न हुनुपर्ने थियो । तर, काम नसकिएपछि ०७१ साल १८ असारमा १३ पुससम्मको म्याद थप भयो । उक्त समयमा पनि नसकिएपछि फेरी दोस्रोपटक गतसालकै १४ पुसमा म्याद थप भई गत २४ भदौमा आयोजना सम्पन्न हुनुपर्ने थियो । तर पुनः नसकिएपछि तेस्रोपटक १६ पुससम्मको म्याद पाएको थियो । यद्यपि, आयोजनाको काम सकिएको छैन । तर, अब जेठसम्ममा भने आयोजनाको सम्पूर्ण काम सक्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख निरञ्जन खनालले बताए ।

उनले मुहानमा स्थानीयले विवाद गर्नु, बन्द र नाकाबन्दी, भूकम्प, खानेपानी विभागबाट समयमै बजेट बिनियोजन नहुनु र असार, साउन र भदौ महिनामा खोलाबाट बालुवा र गिटी उत्खनन् गर्न नदिँदा पनि आयोजनाको काममा ढिलाइ भएको स्पष्ट पारे । उनका अनुसार आयोजना सञ्चालन भएपछि प्रतिसेकेन्ड २३ लिटर पानी आउने बताउँदै २४ घन्टामा १९ लाख ८७ हजार लिटर पानी आउनेछ । आयोजनाको पानीले कम्तीमा फिदिमको १० वर्षसम्मको जनसंख्यालाई राम्ररी धान्ने उनको दाबी छ । आयोजनाको काम शर्मा महादेव खिम्ती जेभीले गरेको हो । जेभीका ठेकेदार लोकेन्द्र राजभण्डारीले आयोजनाको काम सकिन लागेको भन्दै अब फिदिमको खानेपानी समस्या समाधान हुने दाबी गरे ।

 

 

 

प्रतिक्रिया