बुटवल, ११ चैत । सामान्य नियम पनि पालना नगरी जथाभावीरूपमा सवारी चलाउने चालकलाई पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही सुरु गरेको छ ।
सडक तथा फुटपाथबाट हिँड्ने त्यस्ता सवारी साधनलाई प्रहरीले कारबाही सुरु गरेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले जथाभावीरूपमा बाटो काट्दा तथा सामान्य ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुनसक्ने भन्दै त्यस्ता सवारी साधनलाई कारबाही सुरु गरेको बताए ।
फुटपाथबाट मोटरसाइकल हुँइकाउने, जेब्राक्रस बाटै सवारी घुमाउने र गति सीमित तथा पार्किङ निषेधमा पनि पार्किङ गर्ने २९ सवारीलाई पहिलो दिनमा नै कारबाही गरेको उनले बताए । यसरी कारबाही पर्नेमा सवैभन्दा बढी मोटरसाइकल र ई–रिक्सा रहेका छन् ।
‘पैदल यात्रीहरूले बाटो काट्ने स्थानबाट सवारीले बाटो काट्दा पैदलयात्रीलाई झन असहज भयो, त्यसैले सडक लेन तथा ट्राफिक लेन पालना नगर्नेलाई कारबाही गर्न लागिएको हो’ एसपी अधिकारीले भने । उनले पैदलयात्रीहरूले पनि जेब्रा क्रसबाट बाटो नकाटेको भन्दै पैदलयात्रीहरूलाई सचेतना जगाउने बताए ।
‘नजिकै जेब्राक्रस हुँदा पनि बीच बाटोबाट पैदलयात्रीहरू बाटो काट्छन यसो हुँदा दुर्घटनाको सम्भावना बढ्छ, त्यसैले हामी सचेतनाको कार्यक्रम ल्याउँदै छौँ ।’ उनले भने । प्रहरीले बिहीबार मात्र कारबाहीमा परेका २९ सवारीबाट ७ हजार ७ सय राजस्व संकलनसमेत गरेको छ ।
प्रतिक्रिया