काठमाडौं, ७ चैत । रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै शनिबार मात्र रत्नपार्कमा अवलोकन गर्न आउनेको संख्या २ सयले बढेको छ । काठमाडौं महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो ।
अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको छ । सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै गत शुक्रबार साँझदेखि वाइफाइ सेवा विस्तार गरिए पनि सर्वसाधारणले शनिबारदेखि मात्र प्रयोग गर्न पाएका थिए । केसी ले भने, ‘रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो ।’
एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको उद्यानमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्छन् । इन्टरनेटको सुविधासँगै उद्यान अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइले अपेक्षा गरेको छ । उद्यानको पुनःनिर्माणपछि सर्वसाधारणका लागि २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।
प्रतिक्रिया