मस्को, ३ चैत । बुधबार थप रसियाली युद्धक विमानले सिरिया छोडेका छन् । रसियाले सिरियाबाट आफ्नो सेना हटाउने निर्णय गरेसँगै थप विमानले सिरिया छोड्न लागेका हुन् । उता अमेरिकी विदेशमन्त्री जोन केरीले रसिया भ्रमणको कार्यक्रम तय गरेको समाचार छ । त्यस अगावै रसियाले पनि आफ्ना युद्धक विमान फिर्ता गर्ने भएको बताइएको छ ।
रसियासँग सिरियाको युद्धबारे वार्ता गर्ने उद्देश्यका साथ कोरीले रसियाको भ्रमण गर्न लागेका हुन् । रसियाली विदेशमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको बताइएको छ ।
प्राप्त समाचारअनुसार सिरियाली विभिन्न नगरमा रहेका केही युद्धक विमान बुधबार पनि फिर्ता भएका हुन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि रसियाली सेनाले सिरिया छोड्ने घोषणा गरेका थिए । रसियाली सेनाले सिरिया छोड्दा जेनेभामा हुन लागेको शान्ति वार्तालाई सहयोग पुग्ने अनुमानका आधारमा सो निर्णय गरिएको बताइएको हो ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफेन डि मिस्तुराले भने, ‘रसियाले सिरियाबाट आफ्ना सेना फिर्ता लानु भनेको जेनेभा वार्ताका पक्षमा भएको एक महत्वपूर्ण प्रगति हो ।’ सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको जेनेभा शान्ति वार्ताकै क्रममा सोमबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि टेलिफोन संवाद भएको थियो ।
उनीहरूबीच सिरियाबाट रसियाली सेना हटाउने तथा सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको जेनेभा वार्ताबारे पनि कुराकानी भएको बताइएको छ । वार्तामा सिरियामा जारी रहेको रसियाली सैनिकको गस्ती एवं उपस्थिति नराखिने र रसियाली सेना त्यहाँबाट हटाउनेबारे कुराकानी भएको थियो ।
वार्ताका लागि सिरियाली विपक्षीहरूका तर्फबाट भने राष्ट्रपति बसर अल असदले कुनै पनि हालतमा सत्ता छोड्पर्ने अडान अघि सारिएको छ । असदले सत्ता छोड्ने शर्तमा मात्र सिरियाली विपक्षीले वार्तामा बस्ने जनाउँदै आएका छन् । सिरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा परी २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब पनि परेको छ । जारी द्वन्द्वमा मारिएकामध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन् । तीमध्ये पनि १३ हजार ५ सय भने बालबालिकाको संख्या रहेको छ ।
गएको सेप्टेम्बर महिनाबाट सिरियामा रसियाले सैनिक कारबाही सुरु गरेको हो । यस हमलापछि अमेरिकाले पनि सिरियामा हवाई कारबाही थालेको थियो । तर, यतिखेर भने सिरियामा युद्धविराम रहेको छ । सरियाको जनसंख्याको कम्तीमा पनि ५० प्रतिशत जनता विस्थापित हुनु परेको र यस मध्यपूर्वी देशलाई निकै ठूलो जनधनको क्षति पु¥याएको यस द्वन्द्वको अन्त्यका लागि सुरु भएको यस वार्ताको पछिल्लो प्रगतिबारे भने केही बताइएको छैन ।
प्रतिक्रिया