नाइपित्व, २ चैत । म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेसनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन क्याव विजयी भएका छन् । म्यानमारको संसद्मा मंगलबार भएको गोप्य मतदानमा उनले सर्वाधिक मत प्राप्त गरी विजयी भएको घोषणा म्यानमारको संसद्ले अपरान्ह घोषणा गरेको हो । उनी म्यानमारमा कयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रूपमा विजयी भएका हुन् । उनी म्यानमारमा आगामी ५ वर्षका लागि निर्वाचित भएका छन् ।
यसैबीच मंगलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै उनले भने, ‘यो जित सुकीको हो’ । उनले सम्वाददाताहरूसँग भने, ‘यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ ।’ आपूmले सुकीको आज्ञापालकका रूपमा कामगर्ने पनि उनले बताए ।
क्याव म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार थिए ।
उनी सुकीको एक विश्वासपात्रका रूपमा पनि चिनिन्छन् । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उनले नै क्यावलाई अघि सारेकी थिइन् ।
प्रतिक्रिया