सिन्धुली, २९ फागुन । जिल्ला विकास समिति सिन्धुलीले पहिलोपटक निर्माण गर्न लागेको आवधिक जिल्ला विकास योजनामा जिल्ला विकास समिति सिन्धुली र कन्सल्टेन्टले लापरवाही गरेको सरोकारवालाहरूले आरोप लगाएका छन् । आवधिक योजनाको बारेमा जिल्ला विकास समिति सिन्धुलीले शुक्रबार आयोजना गरेको अन्तिम छलफलमा सरोकारवालाहरूले यस्तो आरोप लगाउँदै आवधिक योजना प्रति रोष व्यक्त गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा उपस्थित भएका कृषिमन्त्री हरिबोल गजुरेलले आवधिक जिल्ला विकास योजना सरोकारवाला पक्षहरूसँग छलफल र सुझावको आधारमा बनाउन आपूmले आग्रह गरेको भए पनि आपूmहरूसँग छलफल नै नगरी कन्सल्टेन्टले मनोमानी गरेको आरोप लगाए । मन्त्री गजुरेलले जनताको मनोविज्ञान र राजनीतिक दलको मनोविज्ञान अनुसार योजना निर्माण गर्न जरुरी भए पनि कन्सल्टेन्टले र जिविसले जनता र राजनीतिक दलको मनोविज्ञान बुझ्न नसकेको गुनासो गरे । आवधिक जिल्ला विकास योजना जिल्लाको विकासमा लागी महत्वपूर्ण विषय भए पनि अनुमानका आधारमा तथ्यांकहरू समावेश गरिएको कारण फितलो देखिएको मन्त्री गजुरेलको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सांसद मोहनप्रसाद बरालले आवधिक योजना निर्माणको क्रममा वैज्ञानिक प्रक्रिया नपनाइएको बताउँदै पुराना प्रक्रिया र पद्धतिले विकासलाई नयाँ ठाउँमा लैजान नसक्ने बताए । नयाँ ठाउँमा पुग्नका लागी सरकारका पुराना प्रक्रिया र पद्धतिलाई परिवर्तन गर्न आवश्यक रहेको बरालको मत थियो । कार्यक्रमा बोल्दै सांसद गणेश पहाडीले देशभरका अधिकांश जिल्लाको आवधिक योजना निर्माण गरिसक्दा पनि सिन्धुलीले आवधिक योजना निर्माण गर्न नसक्नु र निर्माण गर्न लागिएको योजना पनि फिलतो हुनु दुःखद रहेको बताए ।
कार्यक्रममा सहभागी राजनीतिक पार्टीका नेताहरूले पनि आवधिक जिविस योजना वैज्ञानिक नभएको टिप्पणी गरेका थिए । नेपाली कांग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बरालले आफ्नो धारणा राख्दै जिल्लाको विकासको योजना कन्सल्टेन्टले आपूmखुसी निर्माण गरेको आरोप लगाउँदै आपूmहरू जिल्लाको विकासको योजनाकार हुनुपर्ने विचार व्यक्त गरे । बरालले आवधिक योजना विद्यार्थीको थेसिस जस्तो भएको बताए । उनले विषयगत कार्यालयको तथ्यांकसमेत त्रुटिपूर्ण भएको बताए । त्यस्तै एमालेका जिल्ला अध्यक्ष प्रदीप कटुवालले कन्सल्टेन्टले आवधिक योजना निर्माण गर्दा राजनीतिक दल र सरोकारवालाहरूले दिएको सुझावलाई नै समावेश नगरेको आरोप लगाए ।
एमाओवादीका जिल्ला अध्यक्ष राजन दाहालले कन्सल्टेन्टमार्फत आवधिक योजना निर्माण गर्ने राज्यको नीतिनै गलत रहेको बताउँदै आवधिक योजना औपचारिकताका लागि होइन वास्तविकतामा आधारित रहेर निर्माण गर्नुपर्ने बताए । गलत विश्लेषण र तथ्यांक समावेश गरिएका कारण विश्वासिलो आधार तयार भएपछि मात्र आवधिक जिल्ला विकास योजना पारित हुने नेता दाहालले बताए । कार्यक्रमका अधिकांश सहभागीले आवधिक योजना निर्माणमा जिविस र कन्सलटेन्टले लापरवाही गरेको आरोप लगाएका थिए । गत मंसिरमा गरिएको छलफमा पनि दस्तावेजमा कास्की जिल्लाको तथ्यांक समावेश गरिएको भेटिएपछि कार्यक्रम नै बिथोलिएको थियो । जिविसको आवधिक योजना निर्माणको जिम्मा राष्ट्रिय सर्भिसेज प्रालि पोखराले पाएको छ । उता जिल्ला विकास समिति सिन्धुलीले भने सकेसम्म वैज्ञानिक विधी र प्रक्रियामार्फत आवधिक योजना निर्माण गर्ने प्रयास गरिएको बताएको छ । जिविस सिन्धुलीले इलाका स्तरीय छलफल, विषयगत कार्याशाला गोष्ठी, जिल्लाको संभावना, अवसर, चुनौतीको विश्लेषण, समस्याको विश्लेषण, सरोकारवाला पक्षहरूसँगको अन्तत्र्रिmयामार्फत दस्तावेज तयार गर्ने काम गरेको बताएको छ ।
१२ लाख रूपैयाँको लगानीमा पहिलोपटक निर्माण गर्न लागिएको आवधिक जिल्ला विकास योजना निर्माणमा जिल्ला विकास समिति र राष्ट्रिय सर्भिसेज प्रालिले लापरवाही गर्दा समस्या उत्पन्न भएको छ भने विषयगत कार्यालयहरूले गैर जिम्मेवारीपूर्वक तथ्यांक दिएका कारण पनि आवधिक योजना प्रभावकारी बन्न नसकेको सरोकारवालाहरूको आरोप छ । झन्डै १ वर्ष अगाडिदेखि निर्माण कार्य सुरु भएको आवधिक जिल्ला विकास योजनाको क्रममा १५ वटा वैठक सम्पन्न भइसकेको जिविसको भनाइ छ भने यसबीचमा ५ जना स्थानीय विकास अधिकारी परिवर्तन भइसकेका छन् । धु्रवबहादुर खड्काको पालामा सुरु भएको आवधिक योजनामा निर्माण प्रक्रिया ईश्वरकुमार गिरीसम्म आइपुग्दा पनि पूर्णता पाउन सकेको छैन ।
प्रतिक्रिया